पाँचथरमा निषेधाज्ञा एक साता लम्बियो



फिदिम, ०७ असार

कोरोनाभाइरस सङ्क्रमणको जालो तोड्न पाँचथरमा निषेधाज्ञा एक साता लम्बिएको छ ।

आज बसेको जिल्ला कोभिड–१९ सङ्कट ब्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा आगामी असार १५ गतेसम्म लम्ब्याउने निर्णय गरेको पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष दीपक नेपालले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारीबाट निषेधाज्ञासम्बन्धी आदेश जारी हुन बाँकी छ ।

बैठकले निषेधाज्ञालाई थप खुकुलो पारेको छ । सङ्कट ब्यवस्थापन केन्द्रको निर्णयअनुसार सरकारी तथा सार्वजनिक कार्यालयहरुले अत्यावाश्यक सेवा नियमित सञ्चालन गर्ने, बैङ्क तथा वित्तीय संस्थाहरुले नियमित सेवा प्रवाह गर्ने तर घर–घर पुगेर रकम सङ्कलन गर्ने कार्य स्थगित गर्ने निर्णय गरेको छ ।

यसैगरी सपिङ मल, मनोरञ्जनस्थल, पार्क, सैलुन, ब्यूटिपार्लर, जिमखाना, फुटबल तथा ब्याडमिन्टन लगायत खेलकुदका गतिविधि, पुस्तकालय आदी बाहेकका पसल ब्यवसाय विहान ५ बजेदेखि १० बजेसम्म स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ । होटेल तथा रेस्टुरेण्टहरुले मानिसहरु जम्मा हुने गरी सेवा दिन पाउने छैनन् । यो निर्णय भोलीबाट असार १४ गते मध्यरातसम्म लागू हुनेछ ।

यसअघि जारी निषेधाज्ञा आज मध्यरात सकिँदैछ । पाँचथरमा पाँचौ पटक निषेधाज्ञा थप भएको हो । जिल्लामा हाल ७०० बढी सक्रिय सङ्क्रमित रहेका छन् भने दैनिक औषत ४२ जना कोरोनाभाइरसका सङ्क्रमित थप भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्