पहिरोसँगै झरेको ढुङ्गाले लागेर एक जनाको मृत्यु, एक जना घाइते



पाँचथर, ७ असार

पाँचथरमा पहिरोसँगै झरेको ढुङ्गाले लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

आज विहान करीब ७ः१५ बजे पहिरोसँगै झरेको ढुङ्गाले लागेर पाँचथरको याङवरक गाउँपालिका–२ लेखेवाका ५८ वर्षीय टेकनाथ धौरालीको मृत्यु भएको हो । ढुङ्गाले टाउको तथा शरीरका विभिन्न भागमा लाग्दा शिक्षक समेत रहेका धौरालीको घटनास्थलमै मृत्यु भएको हो ।

घटनामा सोही स्थानका ५२ वर्षीय खड्कबहादुर राई घाइते भएका छन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक डम्बर विश्वकर्माका अनुसार याङवरक–२ स्थित नुवाखोलाबाट निकालिएको कडरिया सिंचाई कुलो बनाउने क्रममा करीब ५० मिटर माथि भीरबाट अचानक पहिरो झरेर उनीहरुलाई लागेको थियो । सिंचाईका लागि खेतमा पानी लगाउन सिंचाई कुलो मर्मत गर्न गएकाहरुले अप्ठ्यारो ठाउँ रहेका कारण भाग्न नपाउँदा उक्त दुर्घटना भएको हो ।

घटनापछि प्रहरी चौकी फलैंचाको टोली तथा सीमा प्रहरी चौकी च्याङथापूबाट प्रहरी नायव निरीक्षक श्याम पौडेलको कमाण्डको टोली घटनास्थलमा पुगेको छ । यस्तै घटनावारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक सागर श्रेष्ठको कमाण्डको टोली समेत घटनास्थलमा पुगेको सूचना अधिकारी विश्वकर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्