पाँचथरमा घट्न सकेन सङ्क्रमण



फिदिम, ०६ असार । पाँचथरमा कोरोनाभाइरस सङ्क्रमण अझै घट्न सकेको छैन् ।

करीब ४० दिनदेखि जारी निषेधाज्ञाका बावजुत पनि पाँचथरमा सङ्क्रमण अझै घट्न नसकेको हो । पाँचथरमा दैनिक रुपमा उल्लेख्य सङ्ख्यामा सङ्क्रमित थप भइरहेका छन् । आइतवार मात्रै पाँचथरमा ८६ जना सङ्क्रमित थप भएका छन् ।

आइतवार जिल्लाका विभिन्न स्थानमा गरेर ३७३ जनाको एण्टिजेन परीक्षण गरिएकामा ८६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय पाँचथरको दैनिक प्रतिवेदनले देखाएको छ । यो सङ्ख्यासँगै जिल्लामा कोरोनाभाइरस सङ्क्रमितको कूल सङ्ख्या १८३४ पुगेको छ ।

पाँचथरमा शनिवार ११७ जनाको एण्टिजेन परीक्षण गर्दा १४ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । शुक्रवार पाँचथरमा ११५ जनामा सङ्क्रमण पुष्टि भएको थियो पाँचथरमा सङ्क्रमण दर केही कम हुदै गएको भएपनि दैनिक रुपमा उल्लेख्य सङ्ख्यामा सङ्क्रमित थपिने क्रम नरोकिएको हो ।

आइतवार नै जिल्लामा ५० जनाको पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । यसको रिपोर्ट प्राप्त हुन कम्तिमा दुई दिन लाग्छ । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कअनुसार हालसम्म १२५२ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् ।

पाँचथरमा अस्थायी कोभिड अस्पतालमा १२ जना उपचाररत छन् । उपचाररत सङ्क्रमितको सङ्ख्या भने क्रमशः घट्दै गएको छ । यस्तै हालसम्म २५ जना सङ्क्रमितलाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको छ ।

पाँचथरमा उपचारका क्रममा ८ र जिल्लामा सङ्क्रमण पुष्टि भई उपचारका क्रममा जिल्ला बाहिर १४ जना गरी कूल २२ जनाको मृत्यु भएको छ । यद्यपी सरकारी तथ्याङ्कमा पाँचथरमा उपचारका क्रममा मृत्यु भएका ८ जनाको सङ्ख्या मात्रै कायम छ ।

प्रतिक्रिया दिनुहोस्