असार ४ः पाँचथरमा एकैदिन ११५ जना सङ्क्रमित थपिए



फिदिम, ०४ असार । पाँचथरमा कोरोनाभाइरस सङ्क्रमणको लहर अझै कम हुन सकेको छैन् । शुक्रवार मात्रै पाँचथरमा ११५ जना कोरोनाभाइरसका सङ्क्रमित थपिएका छन् ।

जिल्ला प्रशासन कार्यालय पाँचथरको तथ्याङ्कअनुसार पाँचथरमा पछिल्लो २४ घण्टामा ३५९ जनामा गरिएको एण्टिजेन परीक्षणमा ११५ जनामा सङ्क्रमण पुष्टि भएको हो । यो तथ्याङ्क विहीवार दिउँसो ३ बजेदेखि शुक्रवार (आज) दिउँसो ३ बजेसम्मको हो ।

आज ११५ जना सङ्क्रमित थपिएसँगै पाँचथरमा कोरोनाभाइरसका सङ्क्रमितको कूल सङ्ख्या १७३४ पुगेको छ । जसमध्ये १०३२ जना सङ्क्रमित निको भएका छन् । निको भएका कतिपय परीक्षणबाट नेगेटिभ नतिजा प्राप्त भएका हुन् । अधिकांश भने सङ्क्रमण पुष्टि भएको दुई साता पुगेका आधारमा सङ्क्रमणमुक्त मानिएका हुन् ।

पाँचथरमा अहिले ६५५ जना सङ्क्रमित होम आइसोलेसनमा रहेका छन् । यसैगरी अस्थायी कोभिड–१९ अस्पतालको एचडीयूमा १३ जना उपचाररत रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ । जिल्लामा उपचार हुन नसकी हालसम्म पाँचथरबाट २५ जनालाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको छ ।

पाँचथरमा जिल्ला भित्रै सङ्क्रमण पुष्टि भएका मध्ये नौ जनाको कोरोनाभाइरस सङ्क्रमणका कारण ज्यान गएको छ । जिल्लामा सङ्क्रमण पुष्टि भई जिल्ला बाहिर उपचारका क्रममा गरी हालसम्म झण्डै दुई दर्जन जिल्लावासीको सङ्क्रमणकै कारण ज्यान गएपनि सो को तथ्याङ्क सरकारी निकायमा छैन् ।

प्रतिक्रिया दिनुहोस्