

नेत्रप्रसाद कोइराला
थर्पू (याङवरक), ३ असार
याङवरक गाउँपालिकामा पुनः कोरोनाभाइरस सङ्क्रमणको लहर बढ्दै गएको छ ।
पछिल्ला दुई सातादेखि दैनिकजसो सङ्क्रमित थप हुँदै आएका थिए । बुधवार भने एकैदिन ३१ जनामा सङ्क्रमण पुष्टि भएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
बुधवार याङवरक गाउँपालिका–४ काबेली हाइड्रोपावरमा ३३ जनामा गरिएको एण्टिजेन परीक्षणमा २४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । हाइड्रोपावर निर्माणमा खटिएका कामदार, स्थानीयवासी लगायत ३३ जनामा गरिएको एण्टिजेन परीक्षणमा २४ जनामा सङ्क्रमण देखिएको हो ।
यस्तै बुधवार नै याङवरक–१ मा १२ जना शङ्कास्पद विरामीहरुको एण्टिजेन परीक्षण गर्दा ७ जनामा सङ्क्रमण पुष्टि भएको गाउँपालिकाले जनाएको छ । यो सङ्ख्यासँगै याङवरक गाउँपालिकामा हालसम्म १५२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।
विभिन्न आयोजनाहरुमा गाउँपालिका बाहिरबाट कामदारहरु आउने, जिल्लाका अन्य क्षेत्रसँग अत्यावाश्यक कार्यहरु सहित विभिन्न कार्यमा भेला हुने, धार्मिक/साँस्कृतिक कार्यक्रमहरु पूर्ण रुपमा बन्द नहुने जस्ता समस्याले याङवरकमा सङ्क्रमण नियन्त्रणमा आउन नसकेको हो ।
यसअघि नयाँ भेरिअन्टको कोरोनाभाइरस सङ्क्रमण भएका ३४ जना सङ्क्रमणमुक्त भइसकेका छन् । गाउँपालिका भित्र कुनैपनि सङ्क्रमितको ज्यान गएको छैन् । तर पछिल्लो दुई हप्तादेखि सङ्क्रमित दैनिक रुपमा थपिइरहेका छन् ।
असार १ गते वडा नं. २ मा ३९ जना र वडा नं. ५ मा २ जनामा गरिएको एण्टिजेन परीक्षणमा १० जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
यस्तै जेठ ३१ गते वडा नं. २, ६ र सिदिङ्वा गाउँपालिका ताप्लेजुङका एक जना गरी कूल ६ जनामा गरिएको परीक्षणमा ४ जनामा सङ्क्रमण देखिएको थियो ।
यस्तै जेठ ३० गते वडा नं. ४, ६ र हिलिहाङ–२ का २ जनामा गरी १३ जनामा गरिएको परीक्षणमा ४ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
यस्तै गरी जेठ २९ गते याङवरक वडा नं. ४, ५ र ६ गते तथा हिलिहाङ–२ का ९ जनामा गरिएको परीक्षणमा ५ जनामा सङ्क्रमण देखिएको थियो ।
यस्तै जेठ २८ गते ५ जना, जेठ २७ गते ७ जना, जेठ २५ गते १९ जना, जेठ २४ गते १५ जना, जेठ २३ गते ११ जना, जेठ २२ गते २ जना र जेठ २० गते ४ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
याङवरक गाउँपालिकामा हालसम्म सबैभन्दा बढी ७० जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै वडा नं. १ मा २३ जना, वडा नं. २ र ३ मा समान २०–२० जना, वडा नं. ५ मा ५ जना र वडा नं. ६ मा २ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
गाउँपालिकाले हालसम्म जम्मा ४८८ जनाको एण्टिजेन परीक्षण गरेको छ । गाउँपालिकाले परीक्षणलाई नियमित गर्ने, सङ्क्रमितलाई होम आइसोलेसनमा राख्ने, स्वास्थ्य सुरक्षाका मापदण्डको पालनामा कडाई गर्ने कार्यलाई नियमित गरिरहेको गाउँपालिकाले जनाएको ।
गाउँपालिकामा भेटिएका सङ्क्रमितमध्ये दुई जनालाई थप उपचारका लागि गाउँपालिका बाहिर रेफर गरिएको छ भने सङ्क्रमितहरुलाई स्वास्थ्यकर्मीबाट नियमित निगरानी र फलोअप भइरहेको गाउँपालिकाले जनाएको छ ।