
फिदिम, ३ असार । पाँचथरमा पछिल्लो २४ घण्टामा थप ७७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । जिल्ला प्रशासन कार्यालय पाँचथरको कोभिड–१९ दैनिक प्रतिवेदनअनुसार एण्टिजेन र पीसीआर विधिबाट गरिएको परीक्षणमा उक्त संख्यामा नयाँ सङ्क्रमित थपिएका हुन् ।
गत जेठ ३१ गते फिदिममा १५८ जनाको स्वाब सङ्कलन गरी पीसीआर परीक्षणका लागि पठाइएकामा ४० जनाको रिपोर्ट पोजेटिभ आएको हो । यसैगरी हिँजो दिउँसो ३ बजेदेखि आज ३ बजेसम्ममा १०४ जनाको एण्टिजेन परीक्षण गरिएकामा ३७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
यो सङ्ख्यासँगै पाँचथरमा कूल सङ्क्रमितको संख्या १६१९ पुगेको छ । यसैगरी जिल्लामा अहिले १३ जना उपचाररत छन् भने २३ जनालाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको छ ।
पाँचथरमा कोरोनाभाइरस सङ्क्रमण भएका १०३२ जना निको भएका छन् । जिल्ला भित्रै आठ जनाको मृत्यु भएपनि जिल्लामा सङ्क्रमण पुष्टि भई जिल्ला बाहिर मृत्यु हुनेको संख्या २० कटेको छ ।