असार २ः पाँचथरमा ६८ जनामा एण्टिजेन परीक्षण गर्दा ७ जनामा कोरोना सङ्क्रमण पुष्टि



फिदिम, २ असार । पाँचथरमा पछिल्लो २४ घण्टामा ६८ जनामा गरिएको एण्टिजेन परीक्षणमा ७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।

जिल्ला प्रशासन कार्यालय पाँचथरको कोभिड–१९ दैनिक प्रतिवेदनअनुसार जिल्लाका विभिन्न स्थानमा आज दिउँसो ३ बजेसम्म गरिएको एण्टिजेन परीक्षणमा ७ जनामा सङ्क्रमण पुष्टि भएको हो । यो संख्यासँगै जिल्लामा कूल सङ्क्रमितको संख्या १ हजार ५ सय ४२ पुगेको छ ।

पाँचथरमा अहिले एचडियूमा २१ जना सङ्क्रमितहरु उपचाररत छन् । जिल्लामा उपचार हुन नसकी हालसम्म २३ जना सङ्क्रमितलाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको छ ।

पाँचथरमा हिँजो एक ६० वर्षीय पुरुषको कोरोनाभाइरस सङ्क्रमणका कारण ज्यान गएको छ । फिदिम नगरपालिका–८ का उनको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक भएकामा जिल्ला अस्पताल ल्याइपुर्याउँदा ज्यान गएको हो । लगत्तै गरिएको परीक्षणमा कोरोनाभाइरस पोजेटिभ देखिएको थियो ।

पाँचथरमा हालसम्म ९९३ जना कोरोनाभाइरस सङ्क्रमणमुक्त भएका छन् । जिल्लामा २८ बेडको एचडियू छ ।

प्रतिक्रिया दिनुहोस्