स्पेन स्वीडेनसँग बराबरीमा रोकियो



एजेन्सी । युरोपेली च्याम्पियनसिप अन्तर्गत समूह ई को खेलमा स्पेन स्वीडेनसँग गोलरहित बराबरीमा रोकिएको छ । स्पेनका फरवार्डको कमजोर प्रदर्शनसँगै स्वीडिस गोलरक्षकले एकपछि अर्को बचाउ गर्दा स्पेनले ३ अंक जोड्न सकेन ।

स्पेनिस मिडफिल्डर कोकेले खेलको सुरुवाती समयमा नै दुई अवसरको सदुपयोग गर्न सकेनन् । दुवै अवसरमा उनको प्रहरले पोस्टको दिशा लिन सकेको थिएन । २३ औं मिनेटमा उनले पहिलो टचमा नै गरेको प्रहार आकसिंदा स्पेन अघि बढ्न सकेन ।

खेलको ३९ औं मिनेटमा मोराटाले स्पेनलाई अग्रता दिलाउने सुवर्ण अवसर गुमाए । जोर्डी अल्बाले दिएको चिप पासलाई स्वीडेनका ड्यानीएल्सनले क्लियर गर्न नसक्दा पेनाल्टी क्षेत्र भित्र वन भर्सेस वनको स्थितिमा मोराटा गोल गर्नबाट चुकेका थिए ।

४१ औं मिनेटमा इसाकको प्रहार पोस्टमा लाग्दा स्पेन खेल बराबरीमा राख्न सफल रहयो । एलेक्जेन्डर इसाकको प्रहारलाई मार्कोस लोरेन्टेले गोललाइनबाट क्लियर गर्दा उक्त बल पोस्टमा लाग्दै गोलरक्षक उनाइ सिमोनको हातमा पुगेको थियो ।

६१ औं मिनेटमा स्विडिस फरवार्ड मार्कस बर्ग सहज अवसरमा चुक्दा स्वीडेन खेलमा अघि बढ्न सकेन । एलेक्जेन्डर इसाकले पेनाल्टी क्षेत्रभित्र तीन डिफेन्डरको चुनौती पार गर्दै दिएको लो क्रसलाई फार पोस्टमा बर्गले ट्याप इन गर्नबाट चुकेका थिए ।

खेलको अन्तिम मिनेटमा जेरार्ड मोरेनोको हेडरलाई गोलरक्षक रोबिन ओल्सनले उत्कृष्ट बचाउ गर्दै खेल बराबरीमा कायम राखे । उनले खेल अवधिभर स्पेनको आक्रमणलाई निस्तेज पार्ने क्रममा उत्कृष्ट प्रदर्शन गरेका थिए । इन्ज्युरी समयको अन्तिम मिनेटमा जोर्डी अल्बाको क्रसमा सराबियाले राम्रो प्रहार गर्न नसक्दा गोलरक्षक ओल्सनले सहज बचाउ गर्न सफल भएका थिए ।

स्पेनले खेलको अन्तिम २५ मिनेटका लागि आक्रामक परिवर्तन गरेपनि गोल निकाल्न भने सकेन । स्वीडेनले भने अन्त्यतिर खेलमा रक्षात्मक रणनीतिका साथ बराबरी गर्ने सुर कसेको थियो ।

यस बराबरीसँगै स्पेन र स्वीडेनले पहिलो खेलमा अंक बाँडेका छन् । समुहमा स्लोभाकिया ३ अंक जोड्दै शीर्ष स्थानमा छ भने अंकविहिन पोल्यान्ड पुछारमा रहेको छ ।

त्यसअघि समूह ई कै पहिलो खेलमा स्लोभाकियाले पोल्यान्डमाथि जित दर्ता गरेको थियो । १० खेलाडीमा सिमित पोल्यान्डलाई स्लोभाकियाले २(१ ले स्तब्ध पारेको थियो ।

खेलको १८ औं मिनेटमा स्लोभाकियाले आत्मघाती गोलको सहाराले अग्रता लिएको थियो । रोबर्ट म्याकले बायाँ विंगमा उत्कृष्ट मुभ बनाउँदै पेनाल्टी क्षेत्र भित्रसम्म आएर गरेको प्रहार गोलमा परिणत भएको थियो । गोलरक्षक वोजचिएक सेचेज्नीले बल बचाउने प्रयास गर्दा उनलाई लाग्दै बल गोल भएको थियो ।

दोस्रो हाफको पहिलो मिनेटमा नै पोल्यान्डले बराबरी गोल फर्काउन सफल रह्यो । मासिए रिबसको पासलाई क्यारोल लिनेतिले सहजै गोल गर्दै खेल बराबरीमा ल्याए । खेलमा पकड जमाउँदै अग्रता लिने सुरमा कस्सिएको पोल्यान्ड ६२ औं मिनेटमा १० खेलाडीमा समेटियो । मिडफिल्डर ग्रेगोर्ज क्रिकोवियकले दोहोरो पहेंलो कार्ड पाएपछि टोली पुनस् दबाबमा परेको थियो ।

६९ औं मिनेटमा स्लोभाकियाले फेरी अग्रता लियो । कर्नरमा आएको बललाई डिफेन्डर मिलान स्क्रिनियारले गोलमा परिणत गरे । पेनाल्टी क्षेत्रभित्र कर्नरको पासलाई नियन्त्रणमा लिँदै उनले डिफेन्डरहरुको बीचबाट गोल गरेका थिए । खेलको अन्तिम समयतिर पोल्यान्डले एकपछि अर्को आक्रमण गरेपनि गोलरक्षक मार्टिन डुब्राभ्काले लगातार बचाउ गर्दै टोलीलाई जित दिलाए ।

यस जितसँगै स्लोभाकियाले समूहमा तीन महत्त्वपूर्ण अंक जोडेको छ । यसै समूहको अर्को खेलमा आज स्विडेन र स्पेन भिड्दैछन् ।

सोमबार नै भएको खेलमा चेक रिपब्लिकले स्कटल्यान्डलाई २–० ले पराजित गर्यो । ह्याम्प्डेन पार्क ग्लास्गोमा सोमबार राति भएको खेलमा चेकको जितमा सिकले दुई गोल गरे । प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा दुवै टोलीले खेलको सुरुवातदेखि नै आक्रमक फुटबल खेलेका थिए ।

१६औं मिनेटमा जाकुव जान्कटोको पासमा प्याट्रिक शिकको प्रहारलाई स्कटल्यान्डका गोलरक्षक डेभिड मार्सलले बचाए । १८औं मिनेटमा एन्ड्रिउ रोबर्टसनको पासमा लेन्डन डेकेसको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा स्कटल्यान्ड अग्रता लिनबाट चुक्यो । ४२औं मिनेटमा प्याट्रिक शिकले गोल गर्दै चेकलाई अग्रता दिलाए । कर्नरबाट आएको बललाई स्कट म्याकटोमिनेले ब्लक गरेपनि भ्लादिमिर कोउफलले गरेको क्रसलाई प्याट्रिकले हेडरमार्फत गोल गर्न सफल भएका थिए ।

४७औं मिनेटमा प्याट्रिककै प्रहारलाई गोलरक्षक मार्सलले विफल पारे । लगत्तै ४८औं मिनेटमा एन्ड्रिउ रोबर्टसनको प्रहार क्रसबारमा लागेर बाहिरिदा २३ वर्षपछि ठुलो प्रतियोगिता खेलिरहेको स्कटल्यान्ड बराबरीबाट चुक्यो । लगत्तै रोबर्टसनकै पासमा थोमस कालासले राम्रोसँग क्लियर हुन नसकेको बललाई चेकका गोलरक्षक थोमस भाक्लिकले पञ्च गर्दै बचाउँदा स्कटल्यान्ड बराबरीबाट चुक्यो ।

५२औं मिनेटमा प्याट्रिकले दर्शनीय दोस्रो गोल गर्दै चेकको अग्रता दोब्बर पारे । थोमस सौउसेकले काउन्टर अट्याकमा फालेको पासमा ज्याक हेन्ड्रीले गल्ती गरेपछि प्याट्रिकले मैदानको मध्यभागबाटै गोलरक्षक अघि बढेको अवस्थामा गरेको लामो प्रहारले जाली चुमेको थियो । गोलरक्षक मार्सलले बचाउने प्रयास गरेपनि सफल भएनन् ।

६१औं मिनेटमा आम्सट्रङले अवसर गुमाउदा स्कटल्यान्डले गोल अन्तर घटाउन सकेन । लगत्तै ६२औं मिनेटमा डेकेसको सिक्स यार्ड टाढाको प्रहारलाई भाक्लिकले नियन्त्रणमा लिए । ६६औं मिनेटमा डेकेसको प्रहारमा भाक्लिक बाधक बने । ७७औं मिनेटमा स्टेफेन ओडोन्नेलको पासमा स्कट म्याक टोमिनेको भली प्रहार क्रसबारबाट थोरै बाहिरियो ।

८१औं मिनेटमा होलेजेकको पासमा प्याट्रिकले अवसर चुकाउदा उनी ह्याट्रिकबाट चुके । ८४औं मिनेटमा जेम्स फोरेस्टले बोरिलाई बिट गर्दै गरेको प्रहारलाई ओन्ड्रेज सेलुस्ट्काले ब्लक गर्दै गोल टारे । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा माइकल क्रेमेसिकको प्रहारलाई गोलरक्षक मार्सलले बचाए ।

चेकले ११ वर्षपछि स्कटल्यान्डलाई हराएको हो । चेकले पछिल्लोपटक स्कटल्यान्डलाई ९ अक्टोवर २०१० मा युरो छनोटको खेलमा १–० ले पराजित गरेको थियो । त्यसयता यि दुई टोली चारपटक आमनेसामने हुदा चेकले एक खेल बराबरीमा रोक्दा तीन खेल गुमाएको थियो । सन् २०११ मा २–२ गोलको बराबरी खेल्दा त्यसपछि चेकले २०१६ मा १–०, २०२० मा २–१ र १–० ले पराजित भएको थियो ।

यो जितसँगै समूह ‘डी’ मा ३ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । समान ३ अंक भएपनि गोल अन्तरमा इंग्ल्यान्ड दोस्रो स्थानमा छ । क्रोएसिया तेस्रो तथा स्कटल्यान्ड पुछारमा छ । (हाम्रो खेलकुदबाट)

प्रतिक्रिया दिनुहोस्