अर्जेन्टिना र चिलीको बराबरी



एजेन्सी । कोपा अमेरिका २०२१ अन्तर्गत समूह चरणको खेलमा अर्जेन्टिना र चिली बराबरीमा रोकिएका छन् । अर्जेन्टिनाले खेलमा दबाब कायम गर्दै अग्रता लिएपनि दोस्रो हाफमा गोल खाएपछि १(१ को बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलको ३३ औं मिनेटमा अर्जेन्टिनाले कप्तान मेस्सीको फ्रिकिक गोलमा अग्रता लिएको थियो । झन्डै २० यार्ड टाढाबाट मेस्सीले गरेको फ्रिकिक प्रहार गोलरक्षक क्लाउडियो ब्राभोले हातले भ्याएपनि पोस्टबाहिर राख्न सकेनन् । लगत्तै लाउटारो मार्टिनेजले अग्रता दोब्बर पार्ने अवसर चुकाए । पेनाल्टी क्षेत्रबाहिर अनमार्क रहेको अवस्थामा उनको प्रहार बाहिरिएको थियो ।

त्यसअघि चिलीका कप्तान ब्राभोले केहि राम्रो बचाउ गर्दै खेल बराबरीमा राख्न सफल भएका थिए । १६ औं मिनेटमा उनले गोन्जालेजको प्रहारलाई विफल पारेका थिए । १८ औं मिनेटमा लो सेल्सोकै पासमा गोन्जालेजको प्रहार सिधै ब्राभोको हातमा पुगेको थियो ।

पहिलो हाफमा एक गोलले पछि परेको चिलीले ५७ औं मिनेटमा खेल बराबरी गर्यो । पेनाल्टी क्षेत्रभित्र निकोलस टाग्लियाफिकोले आर्टुरो भिडाललाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । भिडाल आफैंले गरेको पेनाल्टीलाई अर्जेन्टिनी गोलरक्षक एमिलियानो मार्टिनेजले विफल पारेपनि रिबाउन्डमा एडुआर्डो भार्गास गोल गर्न सफल भएका थिए ।

८० औं मिनेटमा मेस्सीको पासमा निको गोन्जालेजको प्रहार पोस्ट भन्दा थोरै माथिबाट बाहिरियो । त्यसअघि टाग्लियाफिकोको प्रहार पोस्टको दिशा लिन नसक्दा अर्जेन्टिना अघि बढ्न सकेन । इन्ज्युरी समयको पहिलो मिनेटमा मेस्सीको हेडरमा गोलरक्षक ब्राभो बिट भएपनि डिफेन्डर रोकोले क्लियर गर्दै स्कोर बराबरीमा नै राखे ।

यससँगै कोपा अमेरिकाको समूह ए मा अर्जेन्टिना र चिलीले १(१ अंक जोडेका छन् । आज नै हुने समूहको अर्को खेलमा पाराग्वे र बोलिभिया भिड्नेछन् । यस समूहमा उरुग्वे पनि रहेको छ । (हाम्रो खेलकुदबाट)

प्रतिक्रिया दिनुहोस्