

फिदिम, ३१ जेठ
फिदिम नगरपालिका–४ जोरसाल बजार छेउ कुमालेटोलका वृद्धको हिजो राती भएको हत्याको घटनाको प्रहरीले अनुसन्धान जारी राखेको छ ।
हत्यामा सम्लग्नको पहिचानका लागि प्रहरीले घटनास्थल आसपासको क्षेत्रका स्थानीयवासी, मृतकका आफन्त तथा पछिल्लो समय सम्पर्कमा रहेकाहरुसँग सोधपुछ गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरले संघीय प्रहरी इकाई सुनसरी धरानबाट तालीमप्राप्त दुई वटा कुकुर झिकाई घटनामा सम्लग्नको पहिचानको प्रयास गरेको थियो ।
तर कुकुरले हत्यामा सम्लग्नको पहिचान गर्न सकेका छैनन् । घटना भएको ढिलो गरी जानकारी प्राप्त हुनु, घटनापछि पानी पर्नाले प्रमाण नष्ट हुनु तथा अनुसन्धान गर्नुपर्ने क्षेत्रमा मानवीय गतिविधि बढी हुनुले कुकुरले हत्यामा सम्लग्न पहिचान गर्न नसकेको हो ।
कुकुरले हत्यामा सम्लग्नको पहिचान गर्न नसकेपछि विभिन्न प्राविधिक कोणबाट अनुसन्धान जारी राखिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिनुभयो । “विभिन्न प्राविधिक कोणबाट अनुसन्धान भइरहेको छ । केही प्रगति पनि भएको छ”, प्रहरी निरीक्षक विश्वकर्माले भन्नुभयो, “तर निश्कर्षमा पुग्न बाँकी छ ।” प्रहरीले टेकबहादुरसँगको सम्पर्कका ब्यक्तिहरुसँग सोधपुछ जारी राखेको छ ।
फिदिम नगरपालिका–४ जोरसाल बजार छेउ कुमालेटोलका ७९ वर्षीय टेकबहादुर इङ्वा लिम्बूको हिँजो राती धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । फिदिम नगरपालिका–२ ओदिनमा समेत घर भएका टेकबहादुर ८५ वर्षीया श्रीमती कालीमाया सहित कुमालेटोलमा बसोबास गर्दै आएका थिए ।
पक्षघातबाट ग्रसित कालीमायाले घटनाको जानकारी दिन नसक्दा हिजो विहान मात्रै घटना सार्वजनिक भएको थियो । मृतकका जेठा छोरा–बुहारी सुनसरीको धरानमा तथा कान्छा छोरा–बुहारी ओदिनमा बसोबास गर्दै आएका थिए ।