एक घर एक पीसीआर परीक्षण गर्न माग



फिदिम, ३१ जेठ

यहाँका नागरिक संघ संस्थाहरुद्वारा गठित कोभिड–१९ द्रूत प्रतिकार्य समूह पाँचथरले कोरोनाभाइरसको सघन सङ्क्रमण भएका क्षेत्रमा एक घर एक पीसीआर परीक्षण गर्न माग गरेको छ ।

निषेधाज्ञा जारी भएको ३२ दिन पुग्दा समेत सङ्क्रमणको जालो नतोडिएकाले सङ्क्रमण घट्न नसकेको भन्दै उक्त समूहले सदरमुकाम फिदिम सहित सङ्क्रमण ब्यापक भएका स्थानमा प्रत्येक घरका एक जना सदस्यको पीसीआर परीक्षण गर्न माग गरेको हो । समूहको बैठकपछि जारी विज्ञप्तिमा परीक्षण वृद्धि, निषेधाज्ञा तथा स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा कडाई गरी मानवीय क्षति रोक्न पहल गर्न माग गरिएको छ ।

‘निषेधाज्ञा जारी हुँदा ५७ रहेको सङ्क्रमितको संख्या अहिले १,५०१ पुगेको छ’, समूहका संयोजक एवं गैरसरकारी संस्था महासंघ पाँचथरका अध्यक्ष नन्दकुमार नेम्वाङद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘हालसम्मका कार्यको गम्भीर समीक्षा गरी थप प्रभावकारी कदम चाल्नु आवश्यक छ ।’

यस्तै गम्भीर प्रकृतिको स्वास्थ्य समस्या देखिएका सङ्क्रमितहरुलाई थप उपचारका लागि जिल्ला बाहिर लैजानुपर्ने बाध्यता रहेको भन्दै उक्त समूहले जिल्ला अस्पतालमा सघन उपचार कक्ष (आइसीयू) तथा भेण्टिलेटरको जडान गरी सञ्चालनमा ल्याउन माग गरेको छ । बजेटको ब्यवस्था भएपनि यी उपकरण जडान भई सञ्चालन हुन नसक्दा जिल्लावासीले समस्या भोग्नुपरेको समूहको ठहर छ । समूहले सङ्कटको अवस्थामा सरकारी र निजी क्षेत्रसँग सहकार्य गर्दै जिल्लावासीको जीवन रक्षामा योगदान गर्न गैरसरकारी निकायलाई आह्वान समेत गरेको छ ।

जिल्लाका स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामग्री, बन्दाबन्दी प्रभावित सर्वसाधारणलाई खाद्यान्न सहयोग गर्ने कार्यक्रम जारी राखेकामा धन्यवाद दिँदै समूहले अन्यत्रका तुलनामा सङ्क्रमण घट्न नसकेकाप्रति गम्भीर हुन अपील गरेको हो । समूहमा गैरसरकारी संस्था महासंघ जिल्ला शाखा, नेपाल पत्रकार महासंघ जिल्ला शाखा, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा, हुकोडेक नेपाल, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सुआहारा कार्यक्रम जिल्ला शाखा लगायत संघ संस्था आवद्ध छन् ।

पाँचथरमा निषेधाज्ञाका वीचपनि सङ्क्रमण अझै बढिरहेको छ । सदरमुकाम फिदिम नगरपालिका सहित जिल्लाका सात वटै गाउँपालिकाका गाउँ वस्तीमा सङ्क्रमित फेला पर्ने क्रम जारी छ । आइतवार मात्रै जिल्लामा थप ६६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो । आइतवार दिउँसो ३ बजेसम्म जिल्लामा एक हजार ५०१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाँचथरको तथ्याङ्क छ ।

प्रतिक्रिया दिनुहोस्