युरो २०२०ः वेल्स र स्वीट्जरल्यान्डवीच बराबरी



एजेन्सी । युरोपेली च्याम्पियनसिपको समूह चरणको खेलमा वेल्स र स्वीट्जरल्यान्डले बरबरी खेल्दै अंक बाँडेका छन् । एक गोलले पछि परेको अवस्थामा वेल्सले स्वीट्जरल्यान्डलाई १–१ गोलको बराबरीमा रोक्न सफल भएको हो ।

अजरवैजानस्थित बाकी स्टेडियम बाकुमा शनिबार राति भएको समूह ‘ए’ को खेलमा स्वीट्जरल्यान्डले खेलको सुरुवात देखि नै वेल्सलाई दवावमा राखेपनि वेल्सको रक्षापङ्ति तोड्न सकेन । दोस्रो हाफको सुरुमै स्वीट्जरल्यान्डले ब्रिल इम्वोलोको गोलबाट अग्रता लिन सफल भयो ।

उनले ४९औं मिनेटमा जेद्रान शाकिरीको पासलाई सदुपयोग गरेका थिए । एक गोलले पछि परेको वेल्सले सम्हालिएको खेल पस्कँदै बराबरी गोल गर्न सफल भयो । ७४औं मिनेटमा जोइ मोररेलको पासमा अनमार्क रहेका किफर मुरले फ्लिक हेडर गर्दै जाली चुमाएका थिए ।

८५औं मिनेटमा मारियो गाभरानोभिकले गोल गरेपनि भिएआरले उनको गोललाई मान्यता नदिदा स्वीट्जरल्यान्डले अग्रता लिनबाट चुक्यो । मैदान प्रवेश गरेको केहिबेरमा नै गोल गरेको खुसी मनाएपनि उनी अफसाइड ठहरिएका थिए ।

खेलको सुरुवातदेखि नै वेल्सलाई दवावमा राखेको स्वीट्जरल्यान्डले छैटौ मिनेटमा रिकाडौं रोड्रिग्वेजको क्रसमा केभिन एमबावुको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । १५औं मिनेटमा वेल्सले अग्रता लिने सुवर्ण अवसर खर फाल्यो ।

२५औं मिनेटमा ह्यारिस सेफेरोभिचको पासमा ग्रानिट झाँकाको भली प्रहार बाहिरियो । लगत्तै २७औं मिनेटमा सेफेरोभिचकै प्रहार फितलो बन्यो । ४१औं मिनेटमा सेफेरोभिचको प्रहार क्रसबारमा लागेर फर्कदा स्वीट्जरल्यान्ड अग्रता लिनबाट चुक्यो ।

यो बराबरीपछि दुवै टोलीले समान एक अंक जोडेका छन् । शुक्रबार राति टर्कीलाई ३–० ले पराजित गरेको इटालीको ३ अंक छ । यो समूहमा टर्की अंक विहीन छ । (हाम्रो खेलकुद डटकमबाट)

प्रतिक्रिया दिनुहोस्