प्रदेश १ सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित



फिदिम । प्रदेश १ सरकारले पेश गरेको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रदेशसभामा बहुमतले पारित भएको छ । नीति तथा कार्यक्रममा दुई दिनको छलफलपछि आइतबार बहुमतले पारित गरेको हो ।

बिहीबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले नीति तथा कार्यक्रम पेश गरेका थिए । शुक्रबार १० जना र शनिबार २२ जना प्रदेशसभा सदस्यले नीति तथा कार्यक्रममाथि टिप्पणी गरेका थिए । त्यसक्रममा नेकपा एमालेको सत्ता पक्षबाहेक अन्य दल र एमालेकै माधव नेपाल पक्षका सांसदले बजेटको आलोचना गर्दै कार्यान्वयनमा आशंका व्यक्त गरे ।

आइतबार मुख्यमन्त्री शेरधन राईले दुई दिनको छलफलमा उठेका प्रश्नको जवाफ दिएका थिए । उनको सम्बोधनपछि नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । नीति तथा कार्यक्रममाथि नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले छुट्टाछुट्टै संशोधन प्रस्ताव पेश गरेका थिए ।

मुख्यमन्त्रीको सम्बोधनपछि जनता समाजवादी पार्टीको तर्फबाट पेश भएको प्रस्ताव दलका नेता जयराम यादवले फिर्ता लिए । माओवादी केन्द्र र कांग्रेसले पेश गरेको संशोधनको प्रस्ताव फिर्ता नभएपछि बहुमतले अस्वीकृत भएको थियो ।

प्रदेशसभामा उठेका प्रश्नको जवाफ दिंदै मुख्यमन्त्री शेरधन राईले खुवालुङ बचाउने विषयमा शंका नगर्न आग्रह गरे । केन्द्र सरकारले खुवालुङ फुटाउने नीति बनाएको थियो । किरात धर्मका अभियन्ताहरुको विरोधपछि सरकार केही पछि सर्‍यो । तर २०७८/७९ को बजेटमा खुवालुङ फुटाउने आशयको योजना समेटिएको छ । प्रदेशसभामा मुख्यमन्त्री राईले खुवालुङ फुटाउन नदिने बताए । खुवालुङ संरक्षणमा केन्द्र सरकारको नीतिलाई प्रतिवाद गर्ने बताएका मुख्यमन्त्री राईले ढुङ्गा गिट्टी निकासीको नीतिमा धेरै टिप्पणी गर्न चाहेनन् ।

प्रदेशको नीति तथा कार्यक्रममा जसपा सांसद जयराम यादवले दर्ता गराएको संशोधन प्रस्ताव समेट्ने बताएका मुख्यमन्त्री राईले ढुङ्गा गिट्टी निकासी गर्दा चुरे क्षेत्रलाई असर नगर्ने भनेर संघीय सरकारले बताइसकेको बताए । यद्यपि ढुंगा गिट्टीका विषयमा केन्द्र सरकारलाई ध्यानाकर्षण गरेको उनले बताए ।

सरकार गठन भएको तीन वर्ष पूरा भए पनि प्रदेश १ को नामाकरण अझै हुन सकेको छैन । प्रदेशको नाम टुङ्गो लगाउन नसकेको भन्दै आलोचना भएपछि मुख्यमन्त्री शेरधन राईले जारी अधिवेशनबाटै नामको टुङ्गो लगाउन प्रस्ताव गरे । प्रदेश १ मा कोशी, सगरमाथा, कोशी किरात नाम बढी चर्चामा छ ।

प्रतिक्रिया दिनुहोस्