दक्षिण कोरियाले लेबनानलाई हरायो



एजेन्सी । दक्षिण कोरियाले फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा लेबनानलाई पराजित गरेको छ ।

दक्षिण कोरियाले घरेलु मैदानमा २–१ को जित दर्ता गर्दै छनोटमा अपराजित रहन सफल भयो । समूह एचको कोरिया १६ अंकसहित शीर्ष स्थानमा रहँदा लेबनान १० अंक जोड्दै दोस्रो भयो । खेलको १२ औं मिनेटमा सुनी सादको गोलमा लेबनानले अग्रता लिएको थियो । तर दोस्रो हाफमा कोरिया दुई गोल गर्दै जित दर्ता गर्न सफल रहयो ।

खेलको ५० औं मिनेटमा मिन क्यु संगले गोल गर्दै खेल बराबरीमा ल्याए । ६५ औं मिनेटमा कप्तान ह्युङ मिन सनले पेनाल्टीमा गोल गर्दै कोरियालाई अग्रता दिलाए । सनले गोल गरेपछि आफ्नो पूर्व सहकर्मी क्रिस्टियन एरिक्सनलाई गोल समर्पित गरेका थिए । एरिक्सन शनिबार भएको युरोको खेलमा मैदानमा अचेत भएर लडेपछि अस्पताल भर्ना भएका छन् । उनको अवस्था अहिले स्थिर छ ।

यस समूहबाट कोरिया १६ अंक जोड्दै शीर्षस्थानमा रहेर एसियन कपको लागि छनोट भयो । विश्वकप छनोटअन्तर्गत तेस्रो चरणमा पनि कोरियाले स्थान पक्का गरेको छ । लेबनान भने १० अंकसाथ दोस्रो स्थानमा छ । लेबनानको विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने सम्भावना भने अन्य समूहक नतिजामा टिकेको छ । (हाम्रो खेलकुदबाट)

प्रतिक्रिया दिनुहोस्