
फिदिम । झापामा असार ७ गतेसम्मलाई निषेधाज्ञा थप गरिएको छ ।
आज जिल्ला प्रशासन कार्यालय झापामा सम्पन्न जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । छैटौं पटक थप गरिएको निषेधाज्ञामा अघिल्लो निषेधाज्ञा भन्दा केही खुकुलो बनाइएको छ ।
निषेधाज्ञा अवधिभर खाद्यान्न, फलफुल, तरकारी, माछामासु, दूध डेरी, पुस्तक पसल, हार्डवेयरलाई विहान ६ देखी १० बजेसम्म सञ्चालन गर्न दिने निर्णय भएको छ । यस्तै, कृषिजन्य बीउ विजन पसल १० बजेदेखि ४ र मोटर वर्कशप बिहान ११ देखी २ बजेसम्म सञ्चालन गर्न पाइने छ ।
बैंक तथा वित्तीय संस्था पूर्ण रुपमा सञ्चालन गर्न दिइने, अन्य क्षेत्र पूर्ण रुपमा बन्द हुने र सञ्चालन अनुमति पाएकाहरुले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने बैठकपछि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाद्वारा जारी आदेशमा उल्लेख छ ।