
फिदिम, ३० जेठ । पाँचथरमा पछिल्लो २४ घण्टामा थप ६६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।
जिल्ला प्रशासन कार्यालय पाँचथरको कोभिड–१९ दैनिक प्रतिवेदनअनुसार पीसीआर र एण्टिजेन परीक्षणबाट जिल्लामा उक्त संख्यामा नयाँ सङ्क्रमित थपिएका हुन् । यो संख्यासँगै जिल्लामा नयाँ भरिअन्टको कोरोनाभाइरस सङ्क्रमितको कूल संख्या १५०१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ८३ जनामा गरिएको एण्टिजेन परीक्षणमा २३ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै गत २७ गते ८० जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएकामा थप ४३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयको तथ्याङ्कलाई आधार मात्रै प्रशासनले सार्वजनिक गरेको प्रतिवेदनमा जनाइएको छ ।
यस्तै जिल्लामा हालसम्म ७५५ जना कोरोनाभाइरस सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणभएको दुई साता पुगेको तथा कतिपयको पुनः परीक्षण गरी नतिजा नेगेटिभ आएका आधारमा सङ्क्रमणमुक्त घोषणा गरिएको हो ।
जिल्लामा कोभिड अस्पतालको एचडीयूमा ७ जना तथा होम आइसोलेसनमा गरी १० जना गरी कूल १७ जना उपचाररत रहेको प्रतिवेदनले जनाएको छ । जिल्लाबाट हालसम्म २३ जनालाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको छ ।