साढे ३ वर्षपछि सत्तामा काङ्ग्रेस, गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त



फिदिम, २९ जेठ । २०७४ मङ्सिरमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा तत्कालीन बाम गठबन्धनसँग हार ब्यहोर्दै संघ र सात वटै प्रदेश सरकारभन्दा बाहिर पुगेको नेपाली काङ्ग्रेस साढे ३ वर्षपछि सत्तामा पुगेको छ । काँग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेल आज गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भएसँगै काँग्रेस सत्ताको नेतृत्वमा पुग्न सफल भएको हो ।

प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा १६८ को ५ बमोजिम प्रदेशसभामा बहुमत दावी गर्ने सदस्यको रुपमा पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । पोखरेलले ३१ जना सांसदको हस्ताक्षरसहित हिजो प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा आफ्नो दावेदारी पेश गर्नुभएको थियो ।

तर आज कामचलाउ मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि दावी पेश गरेपछि अन्योल भएको थियो । अन्ततः प्रदेश प्रमुखले गुरुङको दावीलाई मान्यता नदिएपछि पोखरेलको मुख्यमन्त्री बन्ने चाहना पूरा भएको हो ।

को हुन् कृष्णचन्द्र ?

नयाँ मुख्यमन्त्री पोखरेल नेपाली कांग्रेसको गण्डकी संसदीय दलका पोखरेल नवलपरासी पूर्व (क) बाट प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ । ७१ वर्षीय पोखरेल पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय हुनुहुन्छ । उहाँका बुबा प्रजातन्त्र सेनानी हुनुहुन्थ्यो ।

२००६ साल मंसिर १३ गते तनहुँमा जन्मेका पोखरेल २०२८ सालबाट कांग्रेस राजनीतिमा प्रवेश गर्नुभएको हो । थर पोखरेल भए पनि उहाँ नाम पछाडि ‘नेपाली’ लेख्ने गर्नुहुन्छ । उहाँ विभिन्न आन्दोलनमा ५ पटक जेल पर्नुभएको थियो । उहाँले भारतको दरभंगाबाट मानविकी र त्रिभुवन विश्वविद्यालयबाट कानूनमा स्नातक गर्नुभएको छ । २०४८ सालपछि उहाँ लगातार चार कार्यकाल कांग्रेस नवलपरासीको सभापति हुनुभएको थियो । कांग्रेसको १२ औं महाधिवेशनबाट उहाँ केन्द्रीय सदस्य बन्नुभएको थियो ।

२०७० सालको प्रतिनिधिसभा चुनावमा नवलपरासी क्षेत्र नं. ३ बाट चुनाव लडेका उहाँ २ सय २५ मतले पराजित हुनुभएको थियो । २०७४ सालको प्रदेश सभा निर्वाचनमा एमाले–माओवादी गठवन्धनका उम्मेदवार सूर्यप्रसाद न्यौपानेलाई ३ सय ८२ मतले पराजित भई पोखरेल गण्डकी प्रदेशसभामा निर्वाचित हुनुभएको थियो ।

यसअघि एमालेका चार, माओवादीका दुई र तत्कालीन संघीय समाजवादी फोरमका एक गरी सात मुख्यमन्त्री थिए । पोखरेल संघीय संरचनामा नेपाली काङ्ग्रेसबाट पहिलो मुख्यमन्त्री समेत बन्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्