लावती र केही सम्झना



सगुन सुसारा
  • सगुन सुसारा

२०७३ साल जेठ २७ गतेको दिन पाँचथरको यासोक बजारमा पदमसुन्दर लावतीको सालिकको अनावरण हुने कुरा थाहा पाएर मनमा हुटहुटी खेल्न थालेको थियो । त्यो कार्यक्रममा उपस्थित हुने उत्कट इच्छा जागेको थियो । त्यही भएर उनका (पदमसुन्दरका) भाइ पर्ने मेदिनी लावतीलाई फोन गरेको उनले साथीहरुलाई सोध्छु है पो भने र केही प्रतिक्रिया नआए पछि विलखबन्दमा परेको थिएँ । यसो सम्झेको विजय बोध लावती पनि लावतीहरुको जातिय संस्था लावती सयङको कुनै पदमा छन् । अनि फोन गरें उनले छिटो आउन प्रस्ताव गरे सगुन होटलमा । पत्रकारहरु कोही पनि बाइकमा नजाने सबै गाडीमा जाने सल्लाह भयो भनेर विजयजीले भने पछि म लागेँ त्यता ।

सगुन होटलबाट हाम्रो यात्रा शुरु भयो । यासोक पुग्दा समय अलि घर्किसकेको थियो । निर्धारित समय भन्दा ढिलो कार्यक्रम शुरु भयो । सालिकलाई मन्त्री रामकुमार सुब्बाले अनावरण गरे । त्यो कार्यक्रममा पदमसुन्दरका छोरा सगुनसुन्दर लावती र बुहारी बबिना मोक्तानको पनि उपस्थिति थियो । सालिकलाई उधो कुस्सायकतिर फर्काइएको रहेछ । छ फिट अग्लो सालिक भएकोले उधोबाट फोटो खिच्न र हेर्न अलि समस्या पर्दोरहेछ । यदि उभोतिर कुम्मायकतिर फर्काइएको भए हेर्नलाई र फोटो खिच्नलाई पनि अति राम्रो हुने रहेछ । अनि सालिक पनि अलि दुब्लाएको बेलाको फोटोबाट बनाइएको रहेछ । अलि मोटो भएको बेलाको फोटोबाट सालिक बनाइएको भए निकै सुन्दर हुन्थ्यो कि ?

यी भए पदमसुन्दर लावतीको सालिक अनावरणको कुरा । उहाँसँग रहेको केही संस्मरणहरु पनि मसँग छन् । तीनीहरुको बारेमा केही चर्चा गर्न लागेको छु । वास्तवमा म कसरी पदमसुन्दरसँग आकृष्ट भएँ त्यो मलाई नै थाहा छैन । कुन मोह थियो ? मलाई अझै थाहा छैन । त्यो मोह पुरा भयो कि भएन ? त्यो पनि मलाई थाहा छैन । यस्तै अवस्थामा म लावतीप्रति आकृष्ट भएँ । उहाँको स्वाभाव एकदमै कडा जस्तो लाग्ने थियो । तर उहाँको त्यो बानी वास्तवमा उत्तिकै नरम पनि थियो । आफूलाई मन नपर्ने मान्छेलाई कहिल्यै पनि सहयोग नगर्ने र मन परेको मान्छेलाई असाध्यै सहयोग गर्ने मानिस हुनुहुन्थ्यो ।

सायद त्यही भएर धेरै युवा साथीहरु उनको पार्टीमा आबद्ध हुन्थे । त्यसको एउटै स्वार्थ थियो रे जागिर खाने । एक दिन कुरै कुरामा मलाई भन्नु भयो ‘केटा हो तिमीहरु जस्तो केटाहरु हाम्रो पार्टीमा आउँछन् दुई चार दिन खट्छन् । मलाई आफ्नै मान्छे हो जस्तो लाग्छ र जागिरमा लगाई दिन्छु । जागिर पाए पछि त सबै कम्निष्ट हुन्छन् । जाँठाहरु स्वार्थको लागि आउँदा रहेछन् ।’ वास्तवमा केही सत्य पनि थियो त्यो तर सबै म भन्न सक्दिन । वास्तवमा अहिले मलाई लागेको राजनीति भनेको स्वार्थ नै हो । सायद ती युवाहरुमा पनि एउटा स्वार्थ थियो ।

एक दिन पार्टी कार्यलयमा मिटिङ थियो । पदाधिकारीहरु लगायत अन्य सदस्यहरुको आगमन ढिला भइ रहेको थियो । खालि समयमा उहाँले एउटा घटना सुनाउनु भयो । कुरा के र छ भने उहाँ कै समकक्षी नेता पर्शुराम खापुङको बारेमा । घटना आठराईतिरको रहेछ । एक दिन पार्टीको कामको सिलसिलामा हिड्दै जाँदै हुनु हुँदो रहेछ । खास गरी पर्शुराम खापुङको नमस्कार, नमस्कार गरी रहने बानी र छ जनतासँग भेट्दा । एकान्त जंगलमा छेपारो सरङरङरङ कुदी निस्के छ । खापुङले नमस्कार, नमस्कार गरी दिएछन् । यसको मतलब लावतीले हतार हतार नमस्कार नगर्नु भनेका थिए । हामी त्यहाँ उपस्थित हुनेहरु मज्जाले हाँसेका थियौं । हरेक मान्छेहरुको आ–आफ्नै बानी हुन्छ । सायद खापुङको पनि त्यो एउटा बानी थियोे ।

लावती वास्तवमा जनताको काम गर्ने मान्छे जस्तो लाग्छ । एक दिन कुरुम्बातिरको मान्छे नागरिकता बनाउन फिदिम आए । खासमा नागरिकता बनाउने मान्छे चाँही ३२ बर्ष जति सिक्किममा बसेका रहेछन् । उनको दाजु भाइ भने कुरुम्बामा नै । आफ्नै सहोदर दाजुलाई सनाखतको लागि लिएर नागरिकता बनाउन आएका रहेछन् । जन्म दर्ता नभएकोले अलि नागरिकता बनाउन समस्या हुने थियो नै । मलाई त्यो काम गर्न जिम्मा लाउनु भयो लावतीले । अनुसुची भराएर जिल्ला प्रशासन कार्यालय पाँचथर गएँ । सिडिओले त्यो पहिलो नजरमा नै हुदैन भनेर रिजेक्ट गरे । म पुनः ती दाजुभाइलाई लिएर गढी लावती निवासमा गएँ र नहुने कुरा बताएँ । लावतीले फोन गर्नु भयो ।

‘ओ ! सिडिओ, त्यो मेरो मान्छेको नागरिकता किन नबनाई दिएको ?’ उताबाट आवाज आयो ‘मन्त्री ज्यू त्यो त मिल्दैन ।’ यताबाट लावतीले जवाफ दिइहाले ‘त्यै मिल्दैन र मिलाउनुस भनेको, मिल्ने भए त मिली हाल्थ्यो नि ।’ यति सम्वाद पछि ती मान्छेको नागरिकता बन्यो । वास्तवमा त्यो नाता प्रमाणित गराएर वा गाउँ मुचुल्काले बनिने काम थियो । यो क्रियाकलापले मलाई वास्तवमा नेताको काम यस्तै अफ्ठ्यारोमा परेको बेला समाधान गर्नु हो भन्ने लाग्छ ।

लावतीमा वास्तवमा सम्झने सक्ने स्मरण अति तेज थियो जस्तो लाग्छ । कुनै गाउँमा निस्केर अवलोकन गरेको बर्ष दिन वा दुई बर्ष पछि काठमाडौंबाट फर्केर फिदिम आउँदा कार्यकर्ताहरु गाउँबाट आउँदा पनि सोध्ने गर्थे । ‘तेरो माली गाईले कति दुध दिदैछ ? बाख्राले कति वटा व्यायो ? हल गोरु थियो नि त्यो छ कि छैन ?’ अर्थात भनौं न गाउँमा देखेको सबै सम्झन सक्छन् । सोध्न चाहन्छन् उनीहरुको जीवनमा के कति फरक आयो ? कति नाफा कमाए ? कति घाटा कमाए ? के प्रगति गरे ? के अवनति व्यहोरे ? वास्तवमा यो स्मरण क्षमता देखेर म ताजुब हुन्थेँ । कहिले कहिले को कुरा सम्झन सकेको ? देश विदेश घुम्दा पनि नहराएको । हजारौं हजार मान्छेहरुसँगको भेटमा पनि नअल्मलिएको ? अझ उहाँको बानी के थियो भने एकपटक चिनजान भए पछि कहिल्यै नबिर्सने । म अचम्ममा परेको छु ।

पछिल्लो समय खास गरी जनआन्दोलन दुई पछि म लावतीसँग अलि टाढा रहेँ । अर्थात पार्टीको राजनीतिबाट अलि टाढा रहेँ अहिले पनि म यसबाट टाढा छु जस्तो लाग्छ । तर कतै न कतै म राजनीतिको मोहरीमा त छु नै होला ? लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि भएको पहिलो संविधान सभाको निर्वाचनको क्रममा म राष्ट्रिय निर्वाचन पर्यवेक्षक भएँ । त्यही समयमा चुनाव प्रचार प्रसारको कार्यक्रममा लावतीसँग रबिमा हाम्रो भेट भयो । उहाँले सोध्नु भयो ‘के छ ? कवि भाइ ?’

‘मन्त्री ज्यू म त पर्यवेक्षक पो भएर तपाइँहरुको गोठाला गर्दैछु ।’ उहाँले भन्नु भयो— ‘राम्रो गर्नु ।’ ओ ! हो म त अवाक भएँ । केही नेताहरुले यसको काम छैन भनिरहेको अवस्थामा लावतीले राम्रो गर्नु भनेको के ? वास्तवमा उहाँले मलाई पहिलो चिनजान बाट नै मलाई कवि भनेर सम्बोधन गर्नु हुन्थ्यो । वास्तवमा म त्यतिखेर कवि भइसकेको थिइन । रहर गर्दै थिएँ । वास्तवमा यही सम्बोधनले गर्दा प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दसँग इलाममा साहित्यिक भलाकुसारी गर्ने मौका मिल्यो । हामी राति एक बजेसम्म गफ गरेका थियौं । म मुलाले के जानेको थिएँ होला र त्यतिखेर । तर प्रधानमन्त्री जस्तो मान्छेले मेरो जिज्ञासालाई मेटाउन निकै लामो समय खर्चनु भयो । यो लावतीको संगतले सम्भव भएको थियो ।

अर्को संविधान सभाको चुनावको बेला पनि राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति पाँचथरको सचिव भएको हिसाबले क्षे. नं. दुई मेरो जिम्मामा थियो । म सराङ पुगेको बेला लावतीको गाडीलाई ओलनेमा पम्पचर गराए भन्ने खबर आयो । मैले उहाँसँग (लावतीसँग) सम्पर्क गरें अर्थात जानकारी मागेँ । वास्तवमा अन्य राजतीतिक पार्टीका साथीहरुले केही अवरोध गरेकै रहेछन् । खासमा धुलोमा काँटीहरु गाडेर गाडीको टायर छेड्ने काम पनि भएको रहेछ । कल्ले भन्ने कुरा भने खुल्न सकेन यही जिल्लामा रिपोर्टिङ गरेँ । हाम्रो वार्तालाप यही नै अन्तिम भयो ।

लावती वास्तवमा विकासप्रेमी नेता हुन जस्तो लाग्छ । मेची पहाडी राजमार्ग उनकै पहलमा बनेको हो । जिल्लाका धेरै कार्यलयहरु स्थापनामा उनकै योगदान छन् । खास गरी हुलाक तथा खाद्य डिपोहरु उनैले स्थापना गरेको हुन । च्याङथापु, गोपेटार, फिदिम, राँके यासोक र ओलनेमा स्थापना भएको थिए खाद्य डिपो । अहिले ती छैनन् । मैले जीवनमा पहिलो पटक भारी बोकेर (राँकेबाट दशमी खाद्य डिपोमा) पैसा कमाएको पनि खाद्य डिपोको चामल बोकेर नै हो । यहाँको (खाद्य डिपोको) चामलले गाउँघरमा केही उद्धार गथ्र्यौ नै । साथमा केही दिनलाई रोजगारी पनि मिल्थ्यो । पाँचथरमा बिजुली उत्पादनको जस पनि लावतीलाई नै जान्छ ।

लावतीलाई म सधैं सलाम गर्छु उनको विचारका लागि । राजनीतिक जीवनमा उनको विचारमा कहिल्यै विचलन आएको छैन । यस्तो हुनु भनेको नै महानता हो । पछिल्लो समयमा राजनैतिक विचलनले कुनै नेताको भरोसा छैन । तर लावती यस्ता व्यक्ति हुन विचारमा सधैं अडिग । हुन त समय÷परिस्थितिसँगै केही विचारहरु परिवर्तन गर्नु पर्छ भन्ने पनि हो । तर हिडि सकेपछि पछि फर्कनु हुन्न भने मान्यता लावतीमा पाइन्छ । हुन त कसैले त्यसलाई जडसुत्रवादी भन्लान । यी विचारान्तर नै हुन । इति ।                                (प्रतिक्रियाका लागिः[email protected])

प्रतिक्रिया दिनुहोस्