फलामको पाइपले लागेर एक कामदारको मृत्यु



पाँचथर, २८ जेठ

फलामको पाइपले लागेर जलविद्युत आयोजनामा काम गर्ने एक कामदारको मृत्यु भएको छ ।

फलामको पाइप उठाउने क्रममा क्रेनको साङ्ली चुट्टिएर पाँचथरको हिलिहाङ गाउँपालिका–१ मा अरुणभ्याली हाइड्रोपावर कम्पनीद्वारा निर्माणाधीन काबेली बी क्यासकेट जलविद्युत आयोजनामा मजदूरका रुपमा कार्यरत गुल्मीको सत्यवती गाउँपालिका–२ का २९ वर्षीय मोहन राहदी मगरको मृत्यु भएको हो ।

विहीवार साँझ करीब ५ बजे साढे तीन मिटर गोलाई भएको अन्दाजी चार टन तौल भएको फलामको पाइप उठाउने क्रममा क्रेनको साङ्ली चुट्टिँदा उक्त पाइपले मगरको घाँटीमा लागेको थियो । बा ३ क ३८४५ नम्बरको क्रेनको साङ्ली चुट्टिँदा मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

घटनालगत्तै जिल्ला प्रहरी कार्यालय पाँचथरबाट गएको टोलीले घटनावारे थप अनुसन्धानका लागि बाराको सखुवाघाट गाउँपालिका–७ का क्रेन चालक २८ वर्षीय अनिल लोप्चनलाई नियन्त्रणमा लिएको छ । प¥याप्त सावधानी नअपनाइदा जलविद्युत आयोजनाहरु निर्माणका क्रममा वर्षेनि यस प्रकारका घटनाहरु हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्