पछिल्लो २४ घण्टामा पाँचथरका चार जना सङ्क्रमितको मृत्यु



पाँचथर, २८ जेठ

पाँचथरमा पछिल्लो २४ घण्टामा चार जना सङ्क्रमितको ज्यान गएको छ ।

फिदिम नगरपालिका–४ जोरसालका ६४ वर्षीय पुरुषलाई उपचारका लागि झापा लैजाने क्रममा हिँजो दिउँसो मृत्यु भएको थियो । शरीरमा अक्सिजनको मात्रा कम भएपछि भेण्टिलेटरमा राख्न झापाको विर्तामोड लैजाने क्रममा इलाम पुग्दा उनको मृत्यु भएको हो ।

एम्बुलेन्समा रहेका परिवारजनले शंका लागेर इलाम जिल्ला अस्ताल पु¥याउँदा चिकित्सकहरुले उनलाई मृत घोषित गरेका थिए । ती पुरुष कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि चार दिनदेखि जिल्ला अस्पतालमा रहेको कोभिड अस्पतालमा उपचाररत थिए ।

यस्तै फिदिम नगरपालिका–२ नेपालटारमा ३१ वर्षीय पुरुषको समेत हिजो होम आइसोलेसनमा मृत्यु भएको छ । फिदिम–२ का वडाध्यक्ष सुकपाल तुम्वापोका अनुसार जेठ २० गते जिल्ला अस्पतालमा एण्टिजेन परीक्षण गर्दा उनमा सङ्क्रमण पुष्टि भएको थियो ।

यसपछि चार दिनसम्म कोभिड अस्पतालमा बसेर घर फर्केका उनको हिँजो निधन भएको । “अस्पतालमा परीक्षण गराई फिदिम–२ ओदिनमा आफन्तको घरमा बसेको अवस्थामा हिँजो निधन भयो”, वडाध्यक्ष तुम्वापोले भन्नुभयो, “जिल्ला अस्पतालमा परीक्षण गराई उतै उपचार गरेर फर्केकाले सबै कुरा थाहा पाइएन ।”

यस्तै आज विहान अस्थायी कोभिड अस्पतालमा फिदिम–८ का ८१ वर्षीय वृद्धको मृत्यु भएको हो । जिल्ला अस्पतालमा हेल्थ असिस्टेण्ट सोम दङ्गालका अनुसार मृतक वृद्धलाई हिँजो कोभिड अस्पतालमा भर्ना गरिएको थियो । “उहाँको अत्यन्तै नाजुक थियो”, दङ्गालले भन्नुभयो, “परिवारको आग्रहअनुसार कोभिड अस्पतालमा राखिएको थियो ।”

यस्तै फिदिम नगरपालिका–८ कै ५३ वर्षीय पुरुषको आज झापामा उपचारका क्रममा ज्यान गएको परिवारजनले जनाएका छन् । जेठ २४ गते एण्टिजेन परीक्षणमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि उनलाई तीन दिनसम्म फिदिम स्थित कोभिड अस्पतलमा राखी उपचार गरिएको थियो ।

श्वासप्रश्वासमा समस्या देखिएपछि झापा रेफर गरिएकामा उनको आज विहान मृत्यु भएको हो । यद्यपी उनको मृत्युसम्बन्धी तथ्याङ्क झापामै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्