जेसीबी बोकेको ट्रकमा करेण्ट लाग्यो, दुई जनाको मृत्यु



फिदिम । सोलुखुम्बूको सोलुदूधकुण्ड नगरपालिका–८ सोतोमानेमा जेसीबी क्रेन बोकेको ट्रकमा करेण्ट लाग्दा दुई जनाको मृत्यु भएको छ ।

जेसीबी क्रेन बोकेर आज सोलुखुम्बुबाट पोखरा जाँदै गरेको ग १ क ५१७३ नम्बरको ट्रकमा सडकमाथि टाँगिएको विद्युतको मूख्य लाइनमा जेसीबीले छोएपछि करेण्ट लाग्दा दुई जनाको मृत्यु भएको हो । घटनामा दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा ट्रक चालक बाग्लुङ बडिगंगा गाउँपालिका–५ का २६ बर्षीय भूमिराज मरासैनी र सोही ट्रकमा सवार जेसीबी चालक स्याङजाका २३ बर्षीय राम परियार रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

घटनामा ट्रकका सहचालक बाग्लुङ मालिटा गाउँपालिका–८ का १९ बर्षीय बसन्त पौडेल र जेसीबी चालक परियारकी श्रीमती २० बर्षीया लीला परियार घाइते भएका छन् । घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बू र प्रहरी चौकी पतालेबाट प्रहरी टोली खटिई घाइतेहरुलाई उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल फाप्लू सोलुखुम्बू पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्