कोरोना सङ्क्रमित महिलाको यूजीआई ब्लिडिङका कारण मृत्यु



पाँचथर, २८ जेठ

कोरोनाभाइरस सङ्क्रमित एक महिलाको यूजीआई ब्लिडिङका कारण मृत्यु भएको छ ।

तेह्रथुमको आठराई घर भई फिदिममा बस्दै आएकी ६५ वर्षीया महिलाको अप्पर ग्यास्ट्रोइन्टेस्नल ब्लिडिङ (यूजीआई) का कारण आज पाँचथर जिल्ला अस्पतालमा मृत्यु भएको हो । जेठ २५ गते गरिएको एण्टिजेन परीक्षणमा उनी सहित उनको परिवारका अन्य सदस्यहरुमा समेत कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो । उनका श्रीमान पनि सङ्क्रमित भई अस्पतालमा उपचाररत छन् ।

होम आइसोलेसनमा रहेकी ती महिलालाई स्वास्थ्यमा समस्या आएपछि आज अस्पताल पुर्‍याइएकामा मुखबाट रगत वान्ता गर्ने समस्याका कारण ज्यान गएको हो । ग्यास्ट्रिकको अल्सर भई आन्द्रामा प्वाल परेर नाक/मुखबाट रगत वान्ता गर्ने समस्याका कारण उनको मृत्यु भएको जिल्ला अस्पतालका सिनियर अहेव उमेश शाहले जानकारी दिनुभयो ।

कोरोनाभाइरस सङ्क्रमण भएपनि उनको मृत्युको कारण भने यूजीआई रहेको शाहको भनाई छ । विशेषत कोरोना सङ्क्रमणजस्ता जटिल अवस्थामा हुने मद्यपानले यस प्रकारका समस्या निम्त्याउने गरेको स्वास्थ्यकर्मीको भनाई छ ।

पाँचथरमा हिजो दुई र आज विहान दुई गरी चार जना कोरोनाभाइरस सङ्क्रमित पुरुषहरुको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्