समयमा आयोजना पूरा गर्न पहिलो चौमासिकमै ठेक्का लगाउन मन्त्री नेम्वाङको निर्देशन



फिदिम । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले आगामी आर्थिक बर्षमा सञ्चालन हुने आयोजनाहरुको पहिलो चौमासिक भित्रै टेण्डर गर्ने तयारी गर्न निर्देशन दिनुभएको छ ।

तीनदिनसम्म चलेको भर्चुअल नियमित समिक्षा गोष्ठिलाई सम्बोधन गर्दै मन्त्री नेम्वाङले मन्त्रालय मातहत सञ्चालन हुने आयोजनाहरु समयमै सम्पन्न गर्नका लागि पहिलो चौमासिक भित्रै टेण्डर प्रक्रियाहरु सक्नु पर्ने बताउनु भएको हो । सडक विभाग, संघीय सडक सुवरिवेक्षण तथा अनुगमन कार्यालयहरु, आयोजना निर्देशनालय तथा आयोजना कार्यालयहरुबाट प्रस्तुत भएका चालु आर्थिक बर्षका भौतिक तथा तथा वित्तीय प्रगति कोभिड–१९ लगायतका कारण आशातित नभएपनि अझै त्यसलाई सुधार गर्न सकिने अवस्था भएको उहाँले उल्लेख गर्नु भयो ।

“कोरोनाभाइरस सङ्क्रमण लगायतका कारण अपेक्षित प्रगति भएन । आयोजना कार्यालय, निर्देशनालय, विभाग र मन्त्रालयको समन्वय र विश्वासबाट थप प्रगति हासिल गर्न सकिन्छ”, मन्त्री नेम्वाङले भन्नुभयो, “अझै समय छ । साउनको पहिलो हप्तासम्म भवितव्य बाहेक कार्यस्थल नछाडौँ ।”

मन्त्री नेम्वाङले साना–ठूला सबै योजनाहरुलाई बराबर महत्वका साथ कार्यान्वयन गरिनु पर्ने उल्लेख गर्दै साना–साना योजनाहरु जनताले आत्मसाथ गरेको बताउनुभयो । उहाँले बर्षाका कारण बर्षेनी ठूला बाढी पहिरो जाने र राजमार्गहरुमा अवरोध आउने भएकाले त्यसको व्यवस्थापनका लागि पूर्व तयारीलाई चुस्त बनाउन निर्देशन दिनुभयो ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ, सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले समेत धारणा राख्नु भएको थियो । गोष्ठीमा सडक विभाग अन्तर्गतका महाशाखा प्रमुखहरु, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय प्रमुखहरु, आयोजना निर्देशनालय प्रमुखहरु तथा आयोजना कार्यालय प्रमुखहरुले हालसम्मका आर्थिक, भौतिक प्रगति तथा बेरुजु फस्यौटको अवस्थाबारे प्रस्तुती राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्