पाँचथर अस्पताल १०० शैय्यामा स्तरोन्नति गर्ने प्रदेश सरकारको घोषणा



पाँचथर, २७ जेठ

पाँचथर जिल्ला अस्पताल १०० शैय्या क्षमतामा स्तरोन्नति हुने भएको छ ।

प्रदेश नं. १ सरकारले आज सार्वजनिक गरेको नीति तथा कार्यक्रममार्फत पाँचथर जिल्ला अस्पताललाई १०० शैय्या क्षमतामा स्तरोन्नति गर्ने घोषणा गरेको हो । पाँचथर सहित ताप्लेजुङ, पूर्वी तेह्रथुम र उत्तरी इलामका सेवाग्राहीले सेवा लिँदै आएको यो अस्पतालको स्तरोन्नति हुने भएको हो । जिल्लावासीले लामो समयदेखि गर्दै आएको आग्रह र पहलबमोजिम पाँचथर अस्पताल १०० शैय्यामा विस्तार हुन लागेको हो ।

कोभिड–१९ सङ्क्रमणको पहिलो लहर सुरु भएपछि पहाडी क्षेत्रमा स्वास्थ्यका पूर्वाधार विस्तार हुनुपर्ने आवाज निकै ब्यापक रुपमा उठेको थियो । यहाँका जटिल प्रकृतिका कोभिड–१९ का सङ्क्रमितहरुलाई तराईका जिल्लामा पु¥याउनुपर्ने तथा सङ्क्रमितहरुलाई राख्ने बेडको समेत अभाव हुने गरेको थियो ।

प्रसुतीका धेरै विरामी आउने यो अस्पतालको स्तरोन्नतिमा सरकोरकावालाहरुले प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै आएकामा प्रदेश सरकारले प्राथमिकतामा राखी अस्पताल स्तरोन्नतिको निर्णय लिएको हो । प्रदेशको यो निर्णयले पाँचथरवासी सहित पूर्वी पहाडलाई ठूलो राहत मिल्ने अस्पताल विकास समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटाले वताउनुभयो ।

अस्पतालको स्तरोन्नतिका लागि दुई दिन अघिमात्रै पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधिसभा सदस्य समेत रहनुभएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले मुख्यमन्त्री शेरधन राईलाई पत्र पठाउनुभएको थियो । यस्तै अस्पताल विकास समितिका अध्यक्ष सापकोटाले समेत मुख्यमन्त्री राई तथा आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङलाई भेटी नीति तथा कार्यक्रममा अस्पतालको स्तरोन्नति तथा बजेटको प्रवन्ध गर्न आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्