

फिदिम, २७ जेठ । पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधिसभा सदस्य एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले पाँचथर जिल्ला अस्पताललाई १०० शैय्याको अस्पतालमा स्तरोन्नति गर्न प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईलाई आग्रह गर्नुभएको छ ।
मङ्गलबार मुख्यमन्त्री राईलाई पत्र पठाउँदै मन्त्री नेम्वाङले पाँचथर सहित तेह्रथुम, ताप्लेजुङ र इलामका सर्वसाधारणले सेवा लिने पाँचथर जिल्ला अस्पतालको स्तरोन्नति अत्यावाश्यक रहेकाले स्तरोन्नति गरी बजेटको ब्यवस्था गरिदिन आग्रह गर्नुभएको हो । मन्त्री नेम्वाङले भौतिक पूर्वाधार समेत तयार भएकाले पाँचथर अस्पताललाई १०० शैय्यामा स्तरोन्नतिको नीतिगत निर्णय र बजेटको प्रवन्ध आगामी आर्थिक वर्ष २०७८/०८९ को नीति, कार्यक्रम तथा बजेटमार्फत गर्न समेत आग्रह गर्नुभएको छ ।
उक्त पत्र प्राप्त भएपछि मुख्यमन्त्री राईले मन्त्री नेम्वाङको आग्रह र पाँचथर जिल्ला अस्पतालमा सेवाग्राहीको चापका आधारमा उपयुक्त निर्णय लिने वचन दिनुभएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङका स्वकीय सचिव गणेश योङहाङले जानकारी दिनुभयो ।
पाँचथर सहित तीन छिमेकी जिल्ला इलाम, तेह्रथुम र ताप्लेजुङका सेवाग्राहीले सेवा लिने गरेको जिल्ला अस्पतालको स्तरोन्नति अत्यावाश्यक रहेको मन्त्री नेम्वाङले वताउँदै आउनुभएको छ । ५० शैय्याका लागि भवन लगायत संरचना समेत निर्माण भइरहेको जिल्ला अस्पतालको शैय्या विस्तारको नीतिगत निर्णय हालसम्म हुन सकेको छैन् ।
दुई साताअघि जिल्लाका सरोकारवालाहरुसँग आयोजित भर्चुअल बैठकमा मन्त्री नेम्वाङले जिल्ला अस्पतालको स्तरोन्नतिलाई आफूले मुख्य प्राथमिकतामा राख्ने वताउनुभएको थियो । मन्त्री नेम्वाङकै पहलमा गत वर्ष जिल्ला अस्पतालमा आइसीयू र भेण्टिलेटर जडानका लागि प्रधानमन्त्री कोभिड–१९ आकस्मिक कोषबाट रु. दुई करोड बजेट समेट छुट्टिई संरचना निर्माणको प्रकृया अगाडि बढेको छ ।
२०० शैय्याभन्दा कम क्षमताका अस्पताल प्रदेश सरकार मातहत रहने नीतिगत ब्यवस्था छ । सोही ब्यवस्थाबमोजिम पूर्वी पहाडमा धेरै सेवाग्राहीले सेवा लिने पाँचथर अस्पतालको स्तरोन्नति गर्न मन्त्री नेम्वाङले पहल लिनुभएको हो ।
कोभिड–१९ सङ्क्रमणको महामारीमा जुध्न पाँचथर सहित पूर्वी पहाडमा संरचना नै कम र अप¥याप्त भएकाले यो अस्पतालको स्तरोन्नतिमार्फत उक्त समस्या समाधान गर्नुपर्ने मत मन्त्री नेम्वाङले राख्दै आउनुभएको छ ।