आजः विकासप्रेमी नेता पद्मसुन्दर लावतीको छैठौं स्मृति दिवस



पाँचथर, २७ जेठ

विकासप्रेमी नेताको परिचय बनाउनुभएका पूर्वमन्त्री स्वर्गीय पद्मसुन्दर लावतीको छैठौं स्मृति दिवस आज मनाइदैछ ।

लावतीको ७६ वर्षको उमेरमा वि.सं. २०७२ साल जेठ २७ गते काठमाण्डौंमा निधन भएको थियो । मृगौलासम्बन्धी समस्याका कारण अस्पताल भर्ना हुनुभएका उहाँको काठमाण्डौंको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

उहाँको निधनपछि वर्षेनि पाँचथरमा स्मृतिका कार्यक्रमहरु आयोजना हुँदै आएकामा यस वर्ष कोभिड–१९ सङ्क्रमणको महामारीका कारण ठूला कार्यक्रम आयोजना गरिएका छैनन् । विकास निर्माणका क्षेत्रमा जिल्लाका लागि निकै ठूलो योगदान दिएकाले जिल्लावासीले उहाँलाई सधैँ स्मरण गर्ने गरेका छन् ।

लावतीको जन्म वि.स. १९९६ सालमा पाकिस्तानको बालुचिस्तान प्रान्तको क्वेटामा भएको थियो । उहाँका मावली बाजे (हजुरबुवा) मेजर कमानसिङ थाङ्देन गोर्खा पल्टनमा कार्यरत हुँदा उहाँको तत्कालीन बेलायती साम्राज्यको अधिनस्थ क्वेटामा जन्म भएको थियो । उहाँको बाल्यकाल मावली घर तेह्रथुमको पाउँदिनमा वितेको थियो । लावतीले त्यहाँ प्रारम्भिक शिक्षाको सुरुआत गर्नुभएको थियो । किशोरावस्थामा प्रवेशपछि लावती आफ्नो घर यासोकको भदौरे आउनुभएको थियो ।

स्वर्गीय लावतीद्वारा लिखित जीवन कथा ‘मेरो देश मेरो परिवेश’ मा उल्लेख भएअनुसार लावतीले केही समय हुलाकीको काम पनि गर्नुभयो । सामाजिक सम्बन्ध बनेपछि उहाँ राजनीतिमा प्रवेश गर्नुभएको थियो । उहाँ वि.स. २०१९ सालमा युवक संगठनको राजनीतिमा प्रवेश गरी अञ्चल सभापति हुनुभएको थियो ।

०२३ सालमा यासोक गाउँ पञ्चायतको प्रधानपञ्च, ०२४ सालमा जिल्ला पञ्चायतको सदस्य, ०२९ सालमा राष्ट्रिय पञ्चायत सदस्य र उद्योग वाणिज्य राज्यमन्त्री हुनु भएपछि लावतीको राजनीतिक यात्राले उचाई लियो । पटक–पटक गरेर २५ वर्ष लावतीले पाँचथरबाट राष्ट्रिय पञ्चायत तथा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्नुभएको थियो । उहाँ १२ पटक मन्त्री बन्नुभएको थियो । एक पटक उहाँ गृह मन्त्री समेत बन्नुभएको इतिहास छ ।

लावतीको जीवनको उत्तराद्र्ध निकै उथलपुथलपूर्ण रह्यो । पञ्चायत कालदेखि नै पूर्वप्रधानमन्त्री स्व. सूर्यबहादुर थापासँग उहाँको मतभेद थियो । पञ्चायत पृष्ठभूमिका नेताहरु लोकन्द्रबहादुर चन्द, राजेश्वर देवकोटा, डा. प्रकाशचन्द्र लोहनी र पशुपति शम्शेर राणासँग उहाँको राम्रै सम्बन्ध रहेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालमा मुख्यतः रवीन्द्रनाथ शर्मा र कमल थापासँग उहाँको घनिष्ठ राजनीतिक सहयात्रा रहेको पाइन्छ ।

राप्रपा नेपाल समानान्तर समेत बनाई नेतृत्व गर्नुभएका लावती सधैँ संवैधानिक राजतन्त्रप्रतिको वैचारिक अडान रहेका कारण प्रजातन्त्र पुनस्र्थापनापछि भने २०५१ सालको मध्यावधि निर्वाचनमा मात्रै पाँचथर क्षेत्र नं. २ बाट प्रतिनिधिसभामा विजयी हुनुभएको थियो । लावतीकै पहलमा मेची अञ्चलका जिल्लाहरु जोड्ने मेची राजमार्ग निर्माण, पाँचथर सदरमुकाम फिदिमदेखि यासोकसम्म विद्युतीकरण भएको थियो ।

उहाँ स्वास्थ्य मन्त्री छँदा झापाको भद्रपुरमा २५ शैय्याको अञ्चालन अस्पताल स्थापनासँगै अस्पतालका लागि ५ विगाहा जमिन खरिद, पाँचथर सदरमुकाम फिदिममा १५ शैय्याको अस्पताल स्थापना र ५० रोपनी जग्गा खरिद, तेह्रथुममा १५ शैय्याको अस्पताल स्थापना, ताप्लेजुङ, गुल्मी, भैरहवा, अर्घाखाँची, मनाङ, मुस्ताङ र चैनपुरमा अस्पताल स्थापनासँगै वीर अस्पतालको समेत स्तरोन्नति भएको उहाँको जीवन कथामा उल्लेख छ ।

लावतीले जिल्लामा कारागार, प्रहरी, नेपाली सेना, कृषि, जिल्ला विकास समिति, प्रशासन, अदालत लगायत निकायलाई प्रशस्तै जग्गाको प्रवन्ध गर्नुभएको थियो भने पाँचथर बहुमुखी क्याम्पस सहित गाउँ–गाउँमा विद्यालय, दूरसञ्चार, स्वास्थ्य संस्थाको स्थापनामा उहाँले महत्वपूर्ण पहल गर्नुभएको थियो ।

राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनलाई सहयोग गर्नुभएका लावतीले प्रधानमन्त्री बन्ने चाहना राख्नुभएको थियो । तर दरबारले उहाँलाई जिम्मेवारी नदिएपछि लावतीले ‘राजाले मलाई पत्याएनन्’ भन्ने गुनासो गर्नुभएको चर्चा हुनेगरेको थियो । लावतीका दुई छोरी र तीन छोरा छन् । उहाँको स्मृतिमा पाँचथरको फिदिम र यासोक बजारमा शालिक निर्माण गरिएका छन् ।

(तस्वीरहरुः स्व. लावतीका सुपुत्र एवं राप्रपाका नेता सगुन सुन्दर लावतीको फेसबुक तथा अनलाइनहरुबाट लिइएका हुन् ।)

प्रतिक्रिया दिनुहोस्