पाँचथरमा ६२–६४ वर्षका २७०० लाई भेरोशिल्ड खोप लगाइदै



पाँचथर, २६ जेठ

पाँचथरमा ६२ वर्षदेखि ६४ वर्षसम्मका दुई हजार ७०० बढीलाई भेरोशिल्ड खोप लगाइदै छ ।

स्वास्थ्य कार्यालय पाँचथरका निमित्त प्रमुख नारद सुवेदीका अनुसार जिल्लाका ४५ वटा स्वास्थ्य संस्थाबाट विहीवार र शुक्रवार खोप लगाइनेछ । जिल्लाका लागि २७९१ डोज भेरोशिल्ड खोप प्राप्त भएको छ । सुरुआतमा देशभरि जस्तै पाँचथरमा समेत ६० वर्षदेखि ६४ वर्षका ५५८१ जनालाई खोप लगाउने तयारी थियो । स्वास्थ्य कार्यालयले सोही संख्यामा खोप माग गरेकामा माग संख्याको ठीक आधा अर्थात २७९१ डोज चीनियाँ खोप भेरोशिल्ड प्राप्त भएपछि ६२, ६३ र ६४ वर्षका नागरिकलाई खोप दिन लागिएको सुवेदीले जानकारी दिनुभयो ।

उक्त उमेर समूहकै कतिपय जिल्लावासीले यसअघि कोभिशिल्ड खोप लगाएकाले प्राप्त खोप बचत भएको अवस्थामा ६१ र ६० वर्ष उमेर समूहका जिल्लावासीले समेत यो खोप प्राप्त गर्नेछन् । जिल्लामा जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्रहरु गोपेटार र रबी तथा ४२ वटा स्वास्थ्य चौकीहरुबाट खोप लगाउने कार्यक्रम तय गरिएको सुवेदीले वताउनुभयो । प्राप्त खोप उक्त उमेर समूहका नागरिकको संख्याका आधारमा सबै स्थानीय तहहरुमा पुर्‍याइसकिएको छ । खोप लगाउन उमेर खुल्ने कागजात सहित स्वास्थ्य संस्थामा जान स्वास्थ्य कार्यालयले जिल्लावासीमा अपील गरेको छ ।

उक्त उमेर समूहका ब्यक्तिहरुले नागरिकताको प्रमाणपत्र वा सो को प्रतिलिपि, उमेर खुल्ने अन्य कुनै कागजात वा वडा कार्यालयको सिफारिस साथमा लिएर आएमात्रै खोप प्राप्त गर्नेछन् । यो खोप यसअघि कोभिशिल्ड खोप लगाएका ब्यक्तिहरुले लगाउन मिल्दैन् । “नयाँ ब्यक्तिहरुलाई नयाँ डोज खोप दिन लागिएको हो”, स्वास्थ्य कार्यालयका निमित्त प्रमुख सुवेदीले भन्नुभयो । सरकारले यो खोपको दोश्रो डोजको समेत सुनिश्चितता गरी पहिलो डोज दिन लागेको हो ।

यसअघि पाँचथरमा ६५ वर्ष माथिका नागरिक, सुरक्षाकर्मी लगायत गरी १२ हजार ७०० जनाले कोभिशिल्ड खोप लगाएका थिए । उक्त खोप लगाएकाहरुले दोश्रो डोज लगाउने समय भएपनि दोश्रो डोज प्राप्त गर्न सकेका छैनन् । सरकारले स्वास्थ्य कार्यालयहरुलाई कोभिशिल्डको दोश्रो डोज प्राप्त हुन नसकेकाले एकै प्रकृतिको खोप प्राप्त भएपछि १२ हप्ताभित्र लगाउन मिल्ने भनी परिपत्र गरेको सुवेदीले वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्