पाँचथरमा कोरोनाः ६० प्रतिशत सङ्क्रमित फिदिमका, सबैभन्दा कम फालेलुङमा



फिदिम, २६ जेठ । पाँचथरमा कोरोनाभाइरस सङ्क्रमण निकै तीब्र गतिमा फैलिइरहेको छ । करीब २ लाख जनसंख्या रहेको पाँचथरमा जनसाङ्ख्यिक र भौगोलिक हिसाबले सङ्क्रमण निकै ब्यापक भएको छ ।

बुधबार दिउँसो ३ बजेसम्म जिल्लामा कूल १३३७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये ५९२ जनामा सङ्क्रमण भएको दुई साता पुगेका आधारमा सङ्क्रमणमुक्त भएको भनिएको छ । जिल्लामा हाल ७०० जनाभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् ।

जिल्ला भित्रै तीन जनाको सङ्क्रमणका कारण ज्यान गएको छ । तर जिल्लामा सङ्क्रमण भई जिल्ला बाहिर उपचारका क्रममा हालसम्म एक दर्जनबढीको मृत्यु भइसके पनि मृत्यु भएको जिल्लासँग दोहोरो पर्ने भएकाले यसको तथ्याङ्क पाँचथरका सरकारी निकायमा छैन् ।

जिल्लाका कूल सङ्क्रमितमध्ये करीब ६० प्रतिशत फिदिम नगरपालिका भित्रका छन् । फिदिम नगरपालिकामा हालसम्म ८०० जनामा सङ्क्रमण पुष्टि भएको छ । तर फिदिममा अन्य स्थानीय तहको अनुपातमा कम परीक्षण भएको छ ।

जिल्लामा हालसम्म कूल ४४३७ परीक्षण भएको छ । फिदिम नगरपालिकामा १८१३ जनाको मात्रै परीक्षण भएको जिल्ला प्रशासन कार्यालय पाँचथरले बुधवार प्रकाशन गरेको प्रतिवेदनमा उल्लेख छ । उक्त संख्या कूल परीक्षणको करीब ४० प्रतिशत हो ।

यस्तै जिल्लाको फालेलुङ गाउँपालिकामा निकै न्यून परीक्षण भएको छ । फालेलुङमा हालसम्म सबैभन्दा कम ११ जनामा सङ्क्रमण पुष्टि हुँदा उक्त गाउँपालिकाले ८४ जनामा परीक्षण गरेको छ । निकै सतर्कता अपनाइएको फालेलुङमा सङ्क्रमणको अवस्था समेत सामान्य छ ।

प्रतिवेदनअनुसार जिल्लाको याङवरक गाउँपालिकामा १३० एण्टिजेन परीक्षणमा ७१ जनामा सङ्क्रमण पुष्टि भएको छ । तर याङवरकका ६० प्रतिशतभन्दा बढी निको भइसकेका छन् । याङवरकमा करीब १० दिनको अन्तरालमा सङ्क्रमण पुनः फैलिन थालेको पाइएको छ ।

हिलिहाङ गाउँपालिकाले ५७७ जनामा एण्टिजेन परीक्षण गरेको छ । जसबाट १९९ जनामा सङ्क्रमण पुष्टि भएको छ । हिलिहाङमा सङ्क्रमण निकै ब्यापक छ ।
यस्तै कुम्मायक गाउँपालिकाले ४०८ जनामा गरेको परीक्षणमा ७८ जनामा सङ्क्रमण पुष्टि भएको छ । कुम्मायकमा पछिल्लो पटक सङ्क्रमण तीब्र गतिमा फैलिइरहेको छ ।

फाल्गुनन्द गाउँपालिकाले हालसम्म ५७१ जनाको एण्टिजेन परीक्षण गरेको छ । जसबाट ३१ जनामा सङ्क्रमण पुष्टि भएको छ । फाल्गुनन्दले परीक्षणलाई निकै ठूलो दायरामा पु¥याएको छ ।

यता तुम्बेवा गाउँपालिकामा ५२ जनाको पीसीआर र ४०७ जनाको एण्टिजेन परीक्षण भएको छ । जसबाट हालसम्म ७५ जनामा सङ्क्रमण देखिएको छ । तुम्बेवाले परीक्षण बढाउँदै लगेको छ भने सङ्क्रमण पनि तीब्र छ ।

दक्षिणी मिक्लाजुङ गाउँपालिकाले १०० पीसीआर र २७५ एण्टिजेन परीक्षण गरेको छ । जसबाट ७२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

जिल्लामा हालसम्म एण्टिजेन परीक्षण ३८०१ र पीसीआर परीक्षण ६३६ गरी कूल ४४३७ को परीक्षण भएको छ । जसबाट १३३७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्