सङ्क्रमण तीब्र भइरहँदा पाँचथरमा निषेधाज्ञा केही खुकुलो



पाँचथर, २५ जेठ

कोरोनाभाइरस सङ्क्रमण तीब्र भइरहेका बेला पाँचथरमा जारी निषेधाज्ञालाई केही खुकुलो पारिएको छ ।

तेश्रो पटक आजबाट लागू हुने गरी हिँजो जारी गरिएको निषेधाज्ञाअनुसार दैनिक उपभोग्य सामग्री, निर्माण सामग्री लगायत विक्री गर्ने पसल, ब्यवसाय तथा ती सामग्रीको ढुवानी गर्ने सवारी सञ्चालन सहज बनाइएको हो । प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले सङ्क्रामक रोग ऐन, स्थानीय शासन ऐन तथा कोभिड–१९ ब्यवस्थापनसम्बन्धी अध्यादेशका आधारमा आजबाट लागू हुनेगरी थप एक साताका लागि निषेधाज्ञा जारी गर्नुभएको हो ।

खुकुलो पारिएको निषेधाज्ञाअनुसार दूध तथा दूग्धजन्य सामग्री, फलफूल तथा तरकारी पसलहरु, खाद्यान्न तथा खाना पकाउने ग्याँस विक्री गर्ने पसलहरु प्रत्येक दिन विहान ५ बजेदेखि ९ बजेसम्म खुल्ला हुन सक्नेछन् । यस्तै निर्माण सामग्री विक्री गर्ने पसलहरु समेत सोही समयमा खुल्न सक्नेछन् । बाँकी उद्योग ब्यवसाय जेठ ३१ गतेसम्मलाई बन्द गर्ने आदेशमा उल्लेख छ । निर्माण आयोजनाहरु सञ्चालनका लागि ढुवानीका साधन टाइमकार्डका आधारमा सञ्चालन हुने भएका छन् । अत्यावाश्यक क्षेत्रका सवारीका साधनहरु विषय उल्लेख गरी सञ्चालन हुन सक्नेछन् ।

जिल्लामा विकास निर्माणका कार्यहरु समेत स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै जिल्ला प्रशासन कार्यालयको अनुमतिले सञ्चालन गर्ने, निर्माण क्षेत्रका कामदारको स्वास्थ्य परीक्षणको जिम्मा निर्माण कम्पनीहरुले लिनुपर्ने ब्यवस्था निषेधाज्ञाले गरेको छ । निजी क्षेत्रका निर्माणका कार्य समेत अव सञ्चालन हुन पाउने भएका छन् ।

जिल्लामा दैनिक रुपमा सङ्क्रमण निकै ब्यापक भइरहेका बेला निषेधाज्ञा खुकुलो पारिएको हो । जिल्ला कोभिड–१९ सङ्कट ब्यवस्थापन केन्द्र पाँचथरको बैठकअघि आइतवार भएको भर्चुअल बैठकमा केही स्थानीय तहका जनप्रतिनिधिहरु सहित केही सरोकारवालाहरुले निषेधाज्ञा खुकुलो पारी निर्माण कार्यलाई सुचारु गर्नुपर्ने आवश्यता औँल्याएका थिए । यस्तै अत्यावाश्यक क्षेत्रका पसल, ब्यवसाय समेत सञ्चालन गर्नुपर्ने उनीहरुको माग थियो । विशेषत स्थानीय तहका योजनाहरुलाई पूर्णता दिनुपर्ने समय भएको भन्दै त्यसमा ध्यान दिन जिल्लाको मिक्लाजुङ र तुम्बेवा गाउँपालिकाका अध्यक्षले आग्रह गर्नुभएको थियो ।

सदरमुकाम फिदिम सहित जिल्लाको फालेलुङ बाहेकका छ वटा गाउँपालिकामा सङ्क्रमण निकै तीब्र फैलिइरहेको छ । सदरमुकाममा घरैपिच्छेजस्तो सङ्क्रमित छन् भने गाउँ–गाउँमा सङ्क्रमण फैलिएको छ । जिल्लाका केही सरोकारवालाहरुले थप एक साता निषेधाज्ञालाई कडाई गरी कोरोनाभाइरस सङ्क्रमणको चेन ब्रेक गर्नुपर्ने सुझाव दिँदै आएका थिए । हिजोसम्म एक साता निषेधाज्ञामा कडाई गरिएको थियो । उक्त कडाइले समेत सङ्क्रमण तुलनात्मक रुपमा कम हुन सकेको छैन् ।

जिल्लामा सङ्क्रमणको लक्षण भएकाहरुले नै परीक्षण गर्न अस्वीकार गर्ने, सङ्क्रमितहरुले होम आइसोलेसनमा मापदण्डअनुसार नरहने, अरुको सम्पर्कमा पुग्ने, ग्रामीण क्षेत्रमा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना तथा भीडभाड नियन्त्रण नहुनाले सङ्क्रमण घट्न सकेको छैन् । सङ्क्रमण फैलिइरहेका बेला निषेधाज्ञा खुलुक पारिनाले सङ्क्रमणको स्थिति भयावह बन्नसक्ने उनीहरुले चिन्ता ब्यक्त गरेका छन् । पाँचथरमा हिँजो साँझसम्म १२०० जनाभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्