पाँचथर समाजद्वारा स्थानीय तहहरुलाई १३ लाख बढीका स्वास्थ्य सामग्री हस्तान्तरण



पाँचथर, २५ जेठ

पाँचथर समाज, काठमाण्डौंले जिल्लाका स्थानीय तहहरुलाई रु. १३ लाख भन्दा बढी मूल्यका स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

समाजले समाजका सदस्यहरु तथा दाताहरुबाट सङ्कलित रकमबाट खरिद गरिएका अक्सिजन कन्सन्ट्रेटर, एण्टिजेन किट, मास्क, पल्स अक्सिमिटर, पीपीई लगायत सामग्री जिल्लाका आठ वटै स्थानीय तहहरुलाई उपलब्ध गराएको हो ।

आज फिदिममा आयोजित सामग्री हस्तान्तरण कार्यक्रममा समाजका सचिव एवं स्वास्थ्य सामग्री वितरण समितिका संयोजक भूमिका सुब्बाले प्रमुख जिल्ला अधिकारी एवं जिल्ला कोभिड–१९ सङ्कट ब्यवस्थापन केन्द्रका संयोजक पुण्यप्रसाद ढकालमार्फत स्थानीय तहहरुलाई ती सामग्री हस्तान्तरण गर्नुभएको हो ।

समाजले रु. १३ लाख २६ हजार ५०० मूल्यका सामग्री उपलब्ध गराएको हो । समाजले जिल्लाका सात वटै गाउँपालिकाहरुलाई एक/एक थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको छ । सदरमुकाम र जिल्ला अस्पताल समेत रहेको फिदिम नगरपालिकाले यसअघि नै विभिन्न निकायबाट अक्सिजन कन्सन्ट्रेटर लगायत सामग्री उपलब्ध भएको तर स्थानीय तहहरुमा उक्त उपकरणको अभावमा समस्या परेको देखिएकाले गाउँपालिकाहरुलाई मात्रै कन्सन्ट्रेटर उपलब्ध गराइएको समाजका सचिव एवं स्वास्थ्य सामग्री वितरण समितिका संयोजक सुब्बाले वताउनुभयो ।

यस्तै समाजले एण्टिजेन किटसबै गाउँपालिकालाई ५० थानका दरले र फिदिम नगरपालिकालाई ३०० थान उपलब्ध गराएको छ भने सबै स्थानीय तहहरुलाई १५०० थानका दरले मास्क उपलब्ध गराइएको सुब्बाले जानकारी दिनुभयो । यस्तै समाजले जिल्लाका ६० वटै वडालाई २/२ थानका दरले पल्स अक्सिमिटर उपलब्ध गराएको छ । यस्तै डिस्पोजेवल र रियुजेवल पीपीई ५० वटाका दरले उपलब्ध गराइएको सुब्बाले वताउनुभयो ।

हालसम्म विभिन्न निकायबाट कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा उपचारात्मक ब्यवस्था फिदिम केन्द्रीत भएको तर पछिल्लो समय ग्रामीण क्षेत्रमा बढ्दो सङ्क्रमणसँग जुध्न स्थानीय तहमा समेत थप तयारी आवश्यक देखिएकाले स्थानीय तह र सुरक्षा निकायलाई केन्द्रीत गरेर सहयोग गरिएको उहाँको भनाई छ ।

समाजले कोरोनाभाइरस सङ्क्रमणको महामारीका प्रभावित काठमाण्डौँमा रहेका कमजोर आर्थिक अवस्थाका पाँचथरेली, उपचाररत, मृतकका परिवार तथा होमआइसोलेसनमा रहेकालाई ५ हजारदेखि २० हजार रुपैयाँसम्म उपलब्ध गराउन थालेको छ । समाजले हालसम्म ३६ घर परिवारलाई राहत रकम हस्तान्तरण गरिसकेको समाजका सचिव सुब्बाले जानकारी दिनुभयो ।

समाजले कोभिड–१९ सङ्क्रमणको महामारीमा ‘पाँचथरेली बचाऔँ’ अभियान सञ्चालन गरेको हो । अभियानमा हालसम्म रु. १८ लाख, १७ हजार १०५ सङ्कलन भएको समाजले जनाएको छ । “संस्थाका सबै सदस्य र दाताहरुको सहयोगले गर्दा महामारीमा सामग्री उपलब्ध गराउने अवसर समाजले पाएको छ”, समाजका सचिव सुब्बाले भन्नुभयो, “महामारीसँग जुध्न समाजले सहयोगका कार्यक्रम निरन्तर अगाडि बढाउने योजना बनाएको छ ।”

आज फिदिममा आयोजित स्वास्थ्य सामग्री वितरण कार्यक्रम संविधानसभा सदस्य अइन्द्रसुन्दर नेम्वाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा याङवरक गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरे, हिलिहाङ गाउँपालिकाका अध्यक्ष भुवानीप्रसाद लिङदेन, प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकाल, भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष करुणा राई, पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष दीपक नेपाल, सुरक्षा निकायका प्रमुखहरु, समाजका सदस्य निर्मल रिजाल लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्