

फिदिम । जीर्ण अवस्थामा पुगेको पाँचथर जिल्ला कारागारमा नयाँ संरचना निर्माण हुने भएको छ ।
सरकारले आगामी आर्थिक वर्ष योजना २०७८/०७९ को बजेटमा पाँचथर र मोरङ जिल्ला कारागारको नयाँ भवन निर्माणका लागि बजेट विनियोजन गरेपछि नयाँ भवन निर्माण हुने भएको हो । जीर्ण भवनमा क्षमताभन्दा छ गुणा बढी कैदीबन्दी रहेको कारागारको नयाँ भवन बन्ने भएको हो । वर्षौँ अघिबाट कारागारको नयाँ संरचनाका लागि पहल हुँदै आएकामा आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने गरी संघीय सरकारले बजेट छुट्ट्याएको हो । कारागारको नयाँ संरचनाको डिजाइनअनुसार महिला र पुरुष कैदीबन्दीका लागि छुट्टाछुट्टै भवन बन्नेछन् ।
क्षमताभन्दा छ गुणासम्म बढी कैदीबन्दी राख्नुपर्ने अवस्था आएपछि कारागार प्रशासनले जिल्ला प्रशासन कार्यालय पाँचथरका माध्यमबाट संघीय सरकारलाई भवन निर्माणका लागि ताकेता गर्दै आएको थियो । नयाँ भवन निर्माणका लागि सघन शहरी विकास कार्यालय झापाबाट नयाँ संरचनाको डिजाइन, ड्रइङ, स्टिमेट लगायत कार्य पूरा गरी शहरी विकास मन्त्रालयमा पु¥याइएको थियो ।
“यहाँ बनाइएको डिजाइनमा केही परिवर्तन गरी कारागारको नयाँ संरचना निर्माण हुने बुझिएको छ”, जिल्ला कारागार कार्यालय पाँचथरका प्रमुख (जेलर) सुरेन्द्रबहादुर मुखियाले भन्नुभयो, “नयाँ भवन सहितका संरचना बन्ने कुराले खुशी छौँ । कैदीबन्दीलाई धेरै हदसम्म राहत मिल्छ ।”
जीर्ण अवस्थामा पुगेको कारागारमा क्षमताभन्दा छ गुणा बढी कैदीबन्दी रहेका छन् । यो कारागार २० पुरुष र पाँच महिला गरी २५ जना क्षमताको हो । अहिले यहाँ २० जना महिला र १२६ जना गरी १४६ जना कैदीबन्दी छन् भने एक जना आश्रित बालिका समेत कारागारमा रहेकी छन् ।
क्षमताभन्दा बढी कैदीबन्दी हुँदा आलोपालो सुत्नुपर्ने, शौचालय जान लाइन लाग्नुपर्ने, खाना बनाउने तथा खाने ठाउँ नहुने जस्ता समस्या रहेको जेलर मुखियाको भनाइ छ । १० रोपनी क्षेत्रफल रहेको कारागारका अधिकांश संरचनाहरु जीर्ण बनेका छन् । जसकारण कैदीबन्दी, कारागारको सुरक्षामा खटिएका सुरक्षाकर्मी, कर्मचारी लगायतले जोखिमपूर्ण भवनबाट सेवा दिँदै आएका छन् ।
खचाखच कैदीबन्दी रहेको कारागारमा कोभिड–१९ सङ्क्रमणको त्रास उत्तिकै छ । कोभिड–१९ सङ्क्रमणको पहिलो लहरमा गतवर्ष तीन जना कैदीबन्दीमा सङ्क्रमण देखिएपछि ब्यवस्थापनमा कठिनाई भएको थियो । नयाँ–नयाँ कैदीबन्दी थपिने, स्वास्थ्य परीक्षण सहित अदालती प्रकृयाका लागि कैदीबन्दीलाई कारागार बाहिर लगिरहनु पर्ने जस्ता समस्याले अहिले पनि सङ्क्रमणको उत्तिकै खतरा रहेको कारागार प्रशासनले जनाएको छ ।