खाद्य कम्पनीको जग्गा नयाँ शहरका नाममा पास, सिटी हल निर्माणको बाटो खुल्यो, डीपीआरको तयारी



पाँचथर, २५ जेठ । फिदिममा सिटी हल निर्माणका लागि बहुप्रतिक्षित खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडको स्वामित्वमा फिदिममा रहेको पाँच रोपनी जग्गा सिटी हल निर्माण प्रयोजनका लागि नयाँ शहर आयोजना कार्यालय फिदिमका नाममा पास भएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा गत वैशाक २३ गते बसेको मन्त्रिपरिषदको बैठकले उक्त जग्गा नयाँ शहर आयोजना कार्यालय फिदिमका नाममा विक्री पास गर्ने निर्णय गरेको हो । गोदाम र जग्गा विक्री तथा मूल्याङ्कन समिति पाँचथरको २०७७ मंसिर ३० गते बसेको बैठकको उक्त जग्गा र गोदामको मूल्य रु. ३ करोड ३३ लाख ९८५६४ निर्धारण गरेको थियो । उक्त मूल्य बमोजिम खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडको सञ्चालक समितिको २०७७ पुष ९ गते बसेको बैठकले विक्रीका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले सिटी हल निर्माणका लागि विशेष पहल लिँदै आउनुभएकामा उहाँकै पहलमा समितिहरुका निर्णयका आधारमा तत्कालीन विभागीय मन्त्री लेखराज भट्टले २०७७ चैत १९ गते विक्रीका लागि स्वीकृति दिने निर्णय गर्नुभएको थियो । मूल्याङ्कन समिति र खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड सञ्चालक समितिको निर्णय, विभागीय मन्त्रीको स्वीकृति र अर्थ मन्त्रालयले विभिन्न मितिमा गरेको पत्राचारका आधारमा जग्गा विक्री गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रीपरिषदमा प्रस्ताव लगेको थियो ।

सोही प्रस्ताव मन्त्री नेम्वाङकै प्रयत्नमा २०७८ बैशाक २३ गते मन्त्रिपरिषदबाट स्वीकृत भएसँगै अव उक्त जग्गा नयाँ शहर आयोजना कार्यालय फिदिमका नाममा आएको हो । फिदिम नगरपालिका वडा नं. १ (क) स्थित कित्ता नम्बर ३३३ र कित्ता नम्बर ३३५ मा रहेको ५ रोपनी जग्गा र सो जग्गामा रहेको २५० मेट्रिक टन क्षमताको गोदाम नयाँ शहर आयोजना कार्यालयका नाममा विक्री पास भएको हो ।

नयाँ शहर आयोजना कार्यालय फिदिमका नाममा जग्गा पास भएसँगै उक्त जग्गामा ब्यवस्थित सिटी हल निर्माण कार्य अगाडि बढ्ने मन्त्री नेम्वाङले वताउनुभयो । “मुख्य कुरा यो जग्गालाई सिटी हल निर्माण प्रयोजनार्थ पास गर्नुपर्ने थियो”, मन्त्री नेम्वाङले भन्नुभयो, “सिटी हल निर्माणका लागि यसै आर्थिक वर्षमा डीपीआर तयार हुनेछ ।”

मन्त्री नेम्वाङले फिदिममा रङ्गशाला निर्माणको प्रकृया थालनी भएपछि जसरी पनि सिटी हल निर्माणको कार्यलाई अगाडि बढाई छाड्ने दृढता ब्यक्त गर्दै आउनुभएको थियो । डीपीआर तयार भएपछि बजेट सुनिश्चितता गरी ठेक्का प्रकृयामा अगाडि बढाउन आफू निरन्तर प्रयत्नशील रहने उहाँले वताउनुभयो । “फिदिममा ब्यवस्थित सभाहल नहुँदा धेरै समस्याहरु भोग्नुपर्ने बाध्यता थियो”, मन्त्री नेम्वाङले भन्नुभयो, “त्यसको निदानका लागि सकेसम्म ठूलो र ब्यवस्थित सिटी हल निर्माणका लागि सम्बन्धित निकायहरुले प्रयास गर्नेछन् ।”

फिदिममा ‘नाइन साइज’को भएपनि रङ्गशाला निर्माण कार्य अगाडि बढेपछि समग्र जिल्लाकै लागि सिटी हल अत्यावाश्यक देखिएको र उक्त कार्यलाई आफूले विशेष प्राथमिकतामा पहल गर्दै आएको मन्त्री नेम्वाङको भनाई छ । सिटी हल निर्माणका लागि नयाँ शहर आयोजना कार्यालयले विस्तृत परियोजना प्रतिवेदन तथा लागत स्टिमेट तयार पारेपछि निर्माण कार्य अगाडि बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस्