आगलागीमा परी तीन जना घाइते



पाँचथर, २५ जेठ

गएराती भएको आगलागीमा परी यहाँको एकै घरका तीन जना घाइते भएका छन् ।

पाँचथरको फिदिम नगरपालिका–४ जोरसालका दीननाथ सापकोटाको घरमा गएराती करीब ९ः३० बजे आगलागी हुँदा ७२ वर्षीया तनमाया, ४९ वर्षीय दीननाथ र ३१ वर्षीय मदन सापकोटा घाइते भएका हुन् । खाना पकाउने ग्याँस चुहिएर अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

आगलागीमा तनमायाको शरीरका विभिन्न भाग जलेका छन् । यस्तै दीननाथको बायाँ हात र खुट्टा तथा मदनको दायाँ हात र पेट जली घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिनुभयो । घाइतेहरुलाई जिल्ला अस्पताल फिदिम भर्ना गरिएको छ । आगलागी सुरक्षाकर्मी र स्थानीयवासीले समयमै नियन्त्रणमा लिँदा अन्य क्षति भने नभएको प्रहरीले जनाएको छ । घाइतेहरु आफन्तको काजकृयामा बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्