

फिदिम, २२ जेठ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानमा पीसीआर विधिबाट ३ हजार ५ सय ४० र एण्टीजेन विधिबाट १ हजार ५ सय २ गरी कुल ५ हजार ४२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
यो सँगै कुल संक्रमितको संख्या ५ लाख ८५ हजार १ सय जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । आजै ८ हजार २ सय ४३ जना निको भएको स्वास्थ्य मन्त्रालयबाट जारी विज्ञप्तीमा उल्लेख छ।
हालसम्म नेपालमा ४ लाख ८४ हजार ३ सय ३७ जना संक्रमितहरु निको भएका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको हुने दर ८२.८ प्रतिशत रहेको छ। हिजो यो दर ८१.९ प्रतिशत थियो ।
गत २४ घण्टामा आरटी पिसिआर विधिबाट ११ हजार ४ सय ७१ र एन्टीजेन विधिबाट ५ हजार ३ सय ४३ गरी कुल १६ हजार ८ सय १४ जनाको कोरोना परीक्षण गरिएको छ। यो सँगै नेपालमा कोरोना परीक्षण हुनेको संख्या ३१ लाख ३२ हजार ५ सय ९१ जना पुगेको छ ।
मन्त्रालयका अनुसार २१ लाख १३ हजार ८० जनाले कोभिडविरूद्धको खोप पहिलो मात्रा लगाएका छन् भने ६ लाख ९१ हजार ४ सय ९४ जनाले दोस्रो मात्रा लगाएका छन् । गत २४ घण्टामा ६८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
यो संख्यामा सीसीएमसी, नेपाली सेना र अन्य संस्थाले व्यवस्थापन गरेको मृतकको संख्या समेत थप गरिएको मन्त्रालयले जनाएको छ। हिजो १०१ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुनेको संख्या कुल ७ हजार ७ सय ९९ जना पुगेको छ ।