

पाँचथर, २१ जेठ
विषालू शब्जी सेवनबाट विरामी परेका एक ब्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ ।
पाँचथरको फाल्गुनन्द गाउँपालिका–४ चिलिङदिनका ६७ वर्षीय लक्ष्मी नेम्वाङको उपचारका क्रममा गएराती विराटनगरमा मृत्यु भएको हो । एक साता अघिबाट विरामी परेका नेम्वाङलाई झापाको विएण्डसी, धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका अस्पतालमा उपचार गराइएपनि गएराती विराटनगरको न्यूरो अस्पतालमा मृत्यु भएको परिवारजनले वताएका छन् ।
मृतकका छोरा लोकेन नेम्वाङका अनुसार गत साताको शुक्रवार खाना खाएपछि परिवारका सात जना सदस्यमा बेहोस हुने, बर्बराउने, वाकवाकी लाग्नेजस्ता समस्या देखिएका थिए । सबैजना विरामी परेपछि स्थानीयवासीले विषालू शब्जीको सेवनले उनीहरुको स्वास्थ्यमा समस्या आएको आँकलन गरेका थिए ।
उनीहरुले के शब्जी खाए भन्ने अझैसम्म यकिन हुन सकेको छैन् । उपचारका लागि सातै जनालाई अस्पताल भर्ना गरिएकामा मृतककी श्रीमती, छोरा, छोरी र नातिनीहरु निको भई घर फर्किसकेका छन् ।