ब्यापक हेरफेर गर्दै मन्त्रीपरिषद पुनर्गठनः यस्तो छ जिम्मेवारी



फिदिम । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार जनता समाजवादी पार्टी नेपालको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षलाई समेटेर नयाँ मन्त्रिमण्डल पुनर्गठन गर्नुभएको छ ।

मन्त्रिपरिषद पुनर्गठन गर्दै प्रधानमन्त्री ओलीले जसपालाई ८ मन्त्री र दुई राज्यमन्त्रीसहित सत्ता साझेदार बनाएका बनाउनुभएको हो । यसैगरी मौजुदा मन्त्रिपरिषदका १२ जना विदा भएका छन् । बिदा हुनेमा उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित ९ मन्त्री र तीन राज्यमन्त्री छन् ।

प्रधानमन्त्री ओलीले तीनजनालाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिनुभएको छ । जसअनुसार एमालेबाट सामेल भएका विष्णु पौडेल र रघुवीर महासेठलाई उपप्रधानमन्त्रीसहित क्रमशः अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयको कार्यभार तोकिएको छ । यस्तै, जसपा नेपालका राजेन्द्र महतोलाई पनि उपप्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । हाँलाई सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रधानमन्त्री ओलीले रक्षा, गृह, सञ्चार, वन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन मन्त्रालयले आफैसँग राख्नुभएको छ । एमालेबाट सामेल गरिएका शेरबहादुर तामाङलाई स्वास्थ्यमन्त्री, कृष्णगोपाल श्रेष्ठलाई शिक्षा, वसन्तकुमार नेम्वाङलाई भौतिक पूर्वाधार तथा यातायात र लीलानाथ श्रेष्ठलाई कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

​यस्तै, जसपाबाट सामेल गरिएका शरतसिंह भण्डारीलाई ऊर्जा, अनिल झालाई खानेपानी तथा सरसफाई, विमल श्रीवास्तवलाई श्रम तथा रोजगार, उमाशंकर अरगरियालाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ । सोही पार्टीका लक्ष्मणलाल कर्णलाई भूमि व्यवस्था, चन्दा चौधरीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, एकवाल मियाँलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ । जसपाकै चन्द्रकान्त चौधरीलाई ऊर्जा मन्त्रालयमा र रेणुका गुरुङलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा राज्यमन्त्रीको भूमिका दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्