चाइनिज ताईपेमाथि नेपालको सहज जित



फिदिम । नेपालले फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत समूह चरणको छैटौं खेलमा चाइनिज ताइपेइमाथि २–० को सहज जित दर्ता गरेको छ । नेपालका लागि अन्जन विष्ट र नवयुग श्रेष्ठको गोल गरेका हुन् ।

नेपालले खेलको तेस्रो मिनेटमा नै पेनाल्टी पाएको थियो । उक्त पेनाल्टी अवसरलाई अन्जन विष्टले गोल गर्दै नेपाललाई शुरुवाती अग्रता दिलाए । नेपाल पहिलो हाफमा १-० को अग्रता बनाएको थियो।

खेलको ८१ औं मिनेटमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका नवयुग श्रेष्ठले नेपालको अग्रता दोब्बर पारे । अन्जन विष्टको पासमा सुमन अर्यालले पेनाल्टी क्षेत्र भित्रबाट दिएको क्रसलाई नवयुगले पहिलो टचमा नै गोलमा परिणत गर्दै नेपाललाई २–० ले अघि बढाएका थिए । त्यसपछि दुवैतर्फबाट कुनै गोल भएन र नेपालले खेल २–० ले जित्यो।

यस जितसँगै नेपालले विश्वकप छनोटको समूह चरणमा चौथों स्थानमा रहने पक्का गरेको छ । नेपालको एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गर्ने सम्भावना पनि जीवित रहेको छ । नेपालको ६ खेलमा २ जित र ४ हारसहित ६ अंक रहेको छ । जितविहिन चाइनिज ताइपेइको ६ खेलमा कुनै अंक छैन ।

अष्ट्रेलियाले ४ खेलमा १२ अंक जोड्दा जोर्डन र कुवेतको ५(५ खेलमा समान १०(१० अंक रहेको छ । आज हुने दोस्रो खेलमा अष्ट्रेलिया र कुवेतले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्