खाद्यान्नको जोहो गर्न नसक्नेका लागि युवाहरुले चलाए ‘हुनेले दिने, नहुनेले लिने’ अभियान



फिदिम, २१ जेठ ।

बन्दाबन्दी र निषेधाज्ञाका कारण खाद्यान्नको जोहो गर्न नसक्ने परिवारलाई सहयोग गर्न फिदिममा युवाहरुले ‘हुनेले दिने, नहुनेले लिने’ अभियान चलाएका छन् ।

कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि जारी गरिएको निषेधाज्ञाका समयमा आफैँले खाद्यान्नको जोहो गर्न नसक्ने र समस्यामा परेका परिवारहरुलाई खाद्यान्न उपलब्ध गराउन युवाहरुले यो अभियान चलाएका हुन् । अभियानमा सम्लग्न युवाहरु स्वयंले रकम सङ्कलन गरी अभियान थालेका थिए । जसक्रममा अभियन्ताहरु स्वयंबाट रु. ४० हजार, नेपाल भित्रैबाट रु. ४२ हजार ९६८, विदेशमा रहेका नेपालीहरुबाट रु. २४ हजार ४२६ र रु. १३ हजार ६९० बराबरको खाद्यान्न गरी रु. १ लाख २१ हजार ८४ प्राप्त भएको अभियन्ताहरुले जनाएका छन् ।

अभियन्ताहरुले अभियानको तस्वीर खिचेर सार्वजनिक नगर्ने, सामाजिक सञ्जालमा नहाल्ने, सहयोग लिनेको विवरण सार्वजनिक नगर्ने प्रतिवद्धता ब्यक्त गर्दै समस्या पर्ने परिवारहरुलाई सम्पर्क गर्न आग्रह गर्दै सामाजिक सञ्जालमा सम्पर्क नम्बरहरु समेत उपलब्ध गराएका छन् ।

सहयोग अभियानअन्तर्गत हिँजो फिदिम नगरपालिका वडा नं. १, २ र ४ का २२ परिवारका ५४ जनालाई सहयोग गरिएको अभियन्ता उपेन सापकोटाले जानकारी दिनुभयो । अभियानमा प्रतिब्यक्ति ५ किलो चामल सहित दैनिक आवश्यक खाद्यान्नका सामग्रीहरु परिवार संख्याका आधारमा वितरण गरिने सापकोटाले जानकारी दिनुभयो ।

अभियन्ताहरुले शुक्रवार थप १५ परिवारका २६ सदस्यलाई खाद्यान्न सहयोग उपलब्ध गराउने योजना बनाएका थिए । निषेधाज्ञाका कारण प्रशासनले विहान ८ बजेभित्र वितरण सक्न भनेकाले आजको कार्यक्रम गर्न नसकिएको जानकारी सामाजिक सञ्जालमार्फत गराएका छन् । उनीहरुले सहयोग वितरण गर्ने भनिएका परिवारलाई फोन गरी शनिवार सहयोग उपलब्ध गराउने जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्