कोरोना परीक्षण गर्न नमानेका दुई पुरुषको कोरोनाको लक्षणसँग मिल्ने स्वास्थ्य समस्याका कारण मृत्यु



पाँचथर, २१ जेठ ।

कोरोनाभारस सङ्क्रमणको परीक्षण गर्न अस्वीकार गरेका दुई जना पुरुषको मृत्यु भएको छ ।

एण्टिजेन परीक्षणका लागि स्वास्थ्यकर्मीको टोली गाउँमै गएका समय परीक्षणका लागि गरिएको आग्रह अस्वीकार गरेका फिदिम नगरपालिका–८ का दुई जना पुरुषको हिँजो मृत्यु भएको हो । उनीहरुको कोरोनाको लक्षणसँग मिल्ने स्वास्थ्य समस्याका कारण मृत्यु भएको हो । फिदिम नगरपालिका–८ को कागते र घुमाउनेटार घर भएका ७२ र ६२ वर्षीय पुरुषको मृत्यु भएको वडाध्यक्ष शेरबहादुर नेम्वाङले जानकारी दिनुभयो ।

वडाध्यक्ष नेम्वाङका अनुसार लक्षण देखिएका उनीहरुको परीक्षण हुन सबेको थिएन् । “वडामा टोली आउँदा परीक्षण गराऔँ भनेर मैले नै भनेको हुँ, मान्नुभएको थिएन्”, वडाध्यक्ष नेम्वाङले भन्नुभयो, “हिजो दुःखद् घटना भयो ।”

उनीहरुमा ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने जस्ता स्वास्थ्य समस्या थिए । एक जनाको हिँजो दिउँसो तीन बजे घरैमा मृत्यु भएको थियो भने अर्कालाई श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि फिदिम ल्याउने क्रममा राती नौ बजे बाटैमा मृत्यु भएको वडाध्यक्ष नेम्वाङले जानकारी दिनुभयो ।

पछिल्लो पटक सरकारले परीक्षण नभई मृत्यु भएमा परीक्षण आवश्यक नपर्ने र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई शव ब्यवस्थापन गर्ने निर्णय गरेबमोजिम मृतकहरुको शव गाउँमै धार्मिक परम्पराअनुसार ब्यवस्थापन गरिएको छ । “प्रमुख जिल्ला अधिकारी, नगर प्रमुख र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले सुरक्षाका मापदण्ड अपनाई सदगत गर्न भन्नुभएकाले सोही बमोजिम ग¥यौँ”, वडाध्यक्ष नेम्वाङले भन्नुभयो ।

पछिल्लो पटक फिदिम नगरपालिका–७ र ८ मा कोरोनाभाइरसको सङ्क्रमण ब्यापक हुँदै गएको छ । “प्रत्येकजसो घरमा विरामी छन् । अधिकांशमा कोरोनासँग मिल्ने लक्षण देखिएका छन्”, वडाध्यक्ष नेम्वाङले भन्नुभयो, “दैनिकजसो परीक्षणका लागि फिदिम पठाइरहेको छु ।”

उक्त वडा यसै साता ४६ जनामा गरिएको एण्टिजेन परीक्षणमा १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । वडा नं. ७ मा ५० जनामा गरिएको एण्टिजेन परीक्षणमा २४ जनामा सङ्क्रमण देखिएको थियो ।

गाउँ–गाउँमा सङ्क्रमण तीब्र गतिमा फैलिएपनि स्वास्थ्य सुरक्षाका मापदण्ड मास्कको प्रयोग, भौतिक दूरीको पालना, भीडभाड कम गर्ने जस्ता कार्य हुन सकेका छैनन् । यस्तै यहाँका कैयौँ स्थानीयवासीहरु कोरोनाभाइरस सङ्क्रमणको परीक्षण गर्न तयार नहुँदा अवस्था विकराल हुनसक्ने कतिपयको चिन्ता छ । मानवीय हेलचेक्र्याईले सुरक्षित मानिएका पहाडी गाउँहरुमा सङ्क्रमण निकै तीब्र हुँदै गएको छ ।

परीक्षण गर्न अस्वीरका गरेकाको मृत्यु भएको यो दोश्रो घटना हो । यसअघि पाँचथरकै फाल्गुनन्द–३ का परीक्षण गर्न अस्वीकार गरेका एक पुरुषको समेत मृत्यु भएको थियो । मृत्युपश्चात उनमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्