पीसीआरको रिपोर्ट आउन ढिलाई भएपछि पाँचथरमा एण्टिजेन परीक्षण बढाइदै



पाँचथर, २० जेठ ।

यहाँ सङ्कलित स्वाब आरटी पीसीआर विधिबाट परीक्षण गरी रिपोर्ट प्राप्त हुन लामो समय लाग्ने भएपछि एण्टिजेन परीक्षणको मात्रा बढाउँदै लगिएको छ ।

पाँचथरमा सङ्कलित स्वाब पीसीआर परीक्षणका लागि विराटनगर र धनकुटा पुर्‍याउनुपर्ने बाध्यता छ । त्यहाँ पुर्‍याइएको स्वाब परीक्षणका लागि पालो कुर्नुपर्ने, परीक्षण प्रयोगशालामा निरन्तरजसो समस्या हुने गरेको छ । जसकारण यहाँ सङ्कलन भएको स्वाबको नतिजा आउन न्यूनतम तीन दिन लाग्छ ।

कोभिड–१९ को सङ्क्रमण निकै तीब्र भएका बेला रिपोर्ट आउन समेत ढिलाई भएपछि यहाँ एण्टिजेन परीक्षण बढाइएको हो । यहाँ स्वास्थ्य कार्यालय पाँचथर र स्थानीय तहहरुले प्राथमिकतामा राखी एण्टिजेन विधिबाट सम्भावित सङ्क्रमितहरुको परीक्षण गराउँदै आएका छन् । यद्यपी स्वास्थ्यकर्मीहरुले भने पीसीआर परीक्षण बढाउनुपर्नेमा जोड दिइरहेका छन् ।

बुधवारसम्म जिल्लामा २ हजार ७०९ जनामा कोरोनाभाइरस सङ्क्रमण परीक्षण गरिएकामा २२०० एण्टिजेन परीक्षण भएको छ । ५०९ जनाको मात्रै पीसीआर विधिबाट परीक्षण गरिएको छ । रिपोर्ट आउन हुने ढिलाइकै कारण जिल्लाको हिलिहाङ, याङवरक, कुम्मायक र फाल्गुनन्द गाउँपालिकाले हालसम्म पीसीआर परीक्षण विधिको प्रयोग गरेका छैनन् ।

हिलिहाङले ४३१ जना तथा कुम्मायकले ३१३ जनाको एण्टिजेन परीक्षण गरिसक्दा पीसीआर परीक्षण शून्य छ । अन्य चार वटा स्थानीय तहहरुले पनि न्यून मात्रामा मात्रै पीसीआर परीक्षण गराएका छन् ।

सदरमुकाम रहेको फिदिम नगरपालिकामा ८१२ जनाको एण्टिजेन परीक्षण हुँदा ३३५ जनाको पीसीआर परीक्षण भएको छ । तराइका जिल्लासँग नजिक रहेको दक्षिणी मिक्लाजुङले समेत हालसम्म १०० जनाको पीसीआर र १२९ जनाको एण्टिजेन प्रविधिबाट परीक्षण गराएको छ ।

स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीका अनुसार रिपोर्ट आउन हुने ढिलाइले पीसीआर परीक्षणको मात्रा कम हुन गएको हो । यहाँ सङ्कलित स्वाब प्रादेशिक प्रयोगशाला विराटनगर, कोशी अस्पताल विराटनगर र धनकुटा प्रयोगशालामा परीक्षण गर्ने प्रवन्ध सामाजिक विकास मन्त्रालय प्रदेश १ ले मिलाएको छ ।

“प्रयोगशालामा स्वाबलाई लाइनमा राख्नुपर्ने, समयमा रिपोर्ट प्राप्त नहुने जस्ता समस्या छन्”, सुवेदीले भन्नुभयो, “समयमै रिपोर्ट नआउँदा स्वाब दिएकाहरुबाट सङ्क्रमण फैलन खतरा उत्तिकै भएपछि सबैले एण्टिजेन परीक्षणमा जोड दिएका हौँ ।”

सदरमुकाम फिदिम सहित आठ वटै स्थानीय तहका गाउँहरुमा कोरोनाभाइरस सङ्क्रमण निकै तीब्र भएपछि सङ्क्रमितको शीघ्र पहिचानमार्फत सङ्क्रमण रोकथामका लागि ५५०० थान एण्टिजेन किट ल्याइएको प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले जानकारी दिनुभयो । “हामीले जति चाँडो रिपोर्ट दिन सक्यौँ, सङ्क्रमण रोक्न त्यत्ति नै मद्दत गर्ने रहेछ”, ढकालले भन्नुभयो ।

प्राप्त भएको उक्त किट ३०० का दरले सबै स्थानीय तहहरुलाई प्रदान गरिएको छ । बाँकी किट सङ्क्रमण ब्यापक फैलिएका क्षेत्रमा परीक्षणमा उपयोग गरिने प्रजिअ ढकालले वताउनुभयो । “पीसीआर परीक्षण पनि जारी नै रहन्छ”, उहाँले भन्नुभयो, “चाँडो रिपोर्ट प्राप्त हुने प्रवन्धका लागि प्रयासरत छौँ ।”

स्वास्थ्यकर्मीहरुले भने जतिसक्दो पीसीआर विधिबाट सङ्क्रमितको पहिचान गर्नुपर्नेमा जोड दिएका छन् । “एण्टिजेन किटले सबैखाले सङ्क्रमितको सबै पूर्ण स्वास्थ्य अवस्था पत्ता लगाउन नसक्ने हुँदा सकेसम्म पीसीआर परीक्षण बढाउनु पर्छ”, पाँचथर जिल्ला अस्पतालका सिनियर अहेब उमेश शाहले भन्नुभयो ।

समयमा पीसीआरको रिपोर्ट प्राप्त नहुँदा स्वाब दिएकाहरु खुलमखुल्ला हिँड्ने क्रमले सङ्क्रमण झनै ब्यापक भएको वताउँदै उहाँले समयमा रिपोर्ट प्राप्त हुने र पोजेटिभ रिपोर्ट आएकाहरुलाई समयमै जानकारी दिने प्रवन्ध गरिनुपर्ने वताउनुभयो । परीक्षणका लागि स्वाब दिएकाहरुको समयमै रिपोर्ट नआउने तथा रिपोर्ट आएपनि समयमै जानकारी नहुने गुनासो बढेकाले यसको समाधानमा आफूहरुले पहल गरिरहेको प्रमुख जिल्ला अधिकारी ढकालको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्