
फिदिम, २० जेठ ।
पाँचथरमा पछिल्लो २४ घण्टामा १०३ जना नयाँ सङ्क्रमित थपिएका छन् । यो संख्या २४ घण्टामा सङ्क्रमित थप भएको हालसम्मकै सर्वाधिक अङ्क हो ।
जिल्ला प्रशासन कार्यालय पाँचथरको कोभिड–१९ दैनिक प्रतिवेदनअनुसार तीन दिनअघि गरिएको पीसीआर परीक्षण, हिँजो ३ बजेपछि र आज ३ बजेसम्म गरिएको एण्टिजेन परीक्षणबाट उक्त संख्यामा नयाँ सङ्क्रमित थपिएका हुन् ।
तीन दिनअघि फिदिम १०९ जनामा सङ्कलित स्वाबको पीसीआर रिपोर्ट ७२ जनाको पोजेटिभ आएको छ । बाँकी भने एण्टिजेन परीक्षणमा पोजेटिभ देखिएको संख्या हो ।
यो संख्यासँगै जिल्लामा कूल सङ्क्रमितको संख्या ९६८ पुगेको दैनिक प्रतिवेदनमा उल्लेख छ । जसमध्ये सवैभन्दा बढी ५६९ जना सङ्क्रमित फिदिम नगरपालिकाका छन् ।
हालसम्म जिल्लामा ३६६ जना सङ्क्रमित निको भएका छन् भने १० जनाको एचडियूमा उपचार भइरहेको छ ।
