सरकारले अस्पतालहरुलाई भन्यो – उपचारको शुल्क सूचि सात दिनभित्र सार्वजनिक गर्नू



फिदिम । सरकारले सबै अस्पतालहरुलाई एक हप्ताभित्र उपचारवापत लाग्ने शुल्कको विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै बिरामीको उपचारवापत लाग्ने रकम ७ दिनभित्र सबै अस्पताललाई निर्देशन दिएको हो ।मन्त्रालयले जारी गरेको सूचनामा ७ दिनभित्र सरकारी, निजी, सामुदायिक सबैथरि अस्पताल तथा स्वास्थ्य संस्थाले उपचारवापत लाग्ने शुल्कको विवरण सार्वजनिक गर्न भनिएको छ।

सूचनाअनुसार सबै अस्पताल तथा स्वास्थ्य संस्थाले आफ्नो अस्पताल तथा स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवाको प्रकार र त्यसको लागत रकम शीर्षकसमेत उल्लेख भएको मूल्यसूची सञ्चालक समितिबाट निर्णय गराइ वेबसाइट वा सूचना पाटीमा सार्वजनिक गर्नूपर्नेछ। मन्त्रालयले कोरोना महामारीको समयमा बिरामीको उपचारवापत चर्को शुल्क लिएको, अक्सिजनको समेत अत्याधिक शुल्क लिएको गुनासो आएको उल्लेख गरेको छ।

त्यस्तै, अस्पतालहरूले अनावश्यक परीक्षण गर्न लगाएर आर्थिक व्ययभार थपेको, उपचारका लागि चाहिने सामान बिरामीलाई किन्न लगाएको तथा आवश्यकभन्दा बढी औषधि किन्न लगाएको गुनासो आएको समेत मन्त्रालयले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्