मंगलबार आयो नौ लाख डोज चिनियाँ खोप



फिदिम, १८ जेठ । नेपाललाई अनुदानस्वरुप चीन सरकारले प्रदान गरेको कोभिड–१९ विरुद्धको थप खोप स्वदेश आइपुगेको छ ।

दश लाख खोपका मात्रामध्ये मंगलबार नौ लाख मात्रा नेपाल ल्याइएको हो। हिमालय एयरलाइन्सबाट एक लाख र नेपाल वायुसेवा निगमको जहाजमार्फत आठ लाख मात्रा खोप ल्याइएको हो । निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले निगमको एयरबस–३३० (वाइडबडी) ले आठ लाख मात्रा खोप ल्याएको जानकारी दिए। उनका अनुसार उक्त खोप लिन सोमबार राति वाइडबडी जहाज चीनको राजधानी बेइजिङ उडेको थियो ।

बाँकी एक लाख डोज खोप लिन बुधबार हिमालय एयरलाइन्सको जहाज कुनमिङ जाने बताइएको छ। एयरलाइन्सले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत ती दुई लाख मात्रा खोप निः शुल्क ल्याइने जनाएको छ।

स्वास्थ्य मन्त्रालयले मंगलबार आइपुगेको खोप ५५ देखि ६५ वर्ष उमेर समूहमा पनि ५५ देखि ५९ र ६० देखि ६४ वर्षमध्ये मृत्युदरको विश्लेषण र खोपको उपलब्धताका आधारमा दिइने बताइसकेको छ। यही समयमा नै शिक्षक र सवारी चालकलाई पनि खोपको व्यवस्था गर्ने मन्त्रालयको तयारी गरेको छ ।

कुल साढे १४ लाख ज्येष्ठ नागरिक दोस्रो डोज खोपको पर्खाइमा रहेको मन्त्रालयको तथ्यांक छ । मन्त्रालयले पहिलो डोजमा लगाइएकै खोप दोस्रो डोजमा त्यहि खोप लगाउनुपर्ने हुनाले चीनबाट ल्याएको खोप विगतमा खोप लगाइसकेका जेष्ठ नागरिकले लगाउन नमिल्ने बताएको छ। मन्त्रालयले उनीहरुलाई बेलायतको एस्ट्राजेनेकाले उत्पादन गरेको खोप लगाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्