हौसला बढाउन सङ्क्रमितका घर–घरमा पुगेर परामर्श



पाँचथर, १८ जेठ

कोरोनाभाइरसका सङ्क्रमितहरुको हौसला बढाउन जनप्रतिनिधि तथा सरकारी अधिकारीहरु घर–घरमा पुगेर सुझाव र परामर्श दिएका छन् ।

जिल्ला कोभिड–१९ सङ्कट ब्यवस्थापन केन्द्रको बैठकमा भएको छलफलका आधारमा आज तीन वटा टोली नै बनाई सङ्क्रमितहरुलाई घरैमा पुगेर भेटघाट गर्दै परामर्श दिइएको हो । तीन वटा टोलीले फिदिमको वडा नं. १, २ र ४ मा रहेका सङ्क्रमितहरुलाई घरैमा पुगेर होम आइसोलेसनको अवस्था बुझ्ने, स्वास्थ्य अवस्थाको जानकारी लिने, होम आइसोलेसनमा बस्न समस्या रहेको भए सो को जानकारी लिने, आवश्यक सुझाव र परामर्श दिने काम गरेको हो ।

जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटा, प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकाल, फिदिम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद अधिकारी, प्रहरी नायव उपरीक्षक दानबहादुर थापा, सशस्त्र प्रहरी नायव उपरीक्षक किशोरकुमार श्रेष्ठ, स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदी, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. सञ्जिव यादव, पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष दीपक नेपाल, नेपाल रेडक्रस सोसाइटी पाँचथर शाखाका सभापति कृष्णप्रसाद बाँस्कोटा, नेपाल पत्रकार महासंघ जिल्ला शाखाका अध्यक्ष गिरिराज बाँस्कोटा लगायत टोलीमा सहभागी हुनुहुन्थ्यो ।

वडाहरुमा वडाध्यक्षहरु गजाधर भट्टराई, सुकपाल तुम्बापो र प्रकाश गुरुङ तथा वडा सदस्य लगायत जनप्रतिनिधिहरु सहभागी हुनुहुन्थ्यो । सो अवसरमा परामर्शसहित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले तयार पारेको शरीरको प्रतिरोधात्मक क्षमतामा वृद्धि गर्ने आयुर्वेदिक औषधि समेत सङ्क्रमितहरुलाई वितरण गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले विशेषत सदरमुकाम फिदिममा होम आइसोलेसनको मापदण्ड पालना नभएको, सङ्क्रमितहरुले समस्या भोग्नु परेको लगायत गुनासा सुनिएपछि सङ्क्रमितको अवस्था बुझ्न टोली नै बनाई अनुगमन गरिएको वताउनुभयो । कतिपय सङ्क्रमितहरु सङ्क्रमणका कारण समस्या र मानसिक तनाबमा समेत परेको अवस्थामा घर–घरमा पुगेर सबैले सान्तवना दिने प्रयास गरिएको वताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटाले कोरोनाको सङ्क्रमण महामारीका रुपमा फैलिएकाले यसलाई सबैले सामान्य रुपमा लिई उच्च सतर्कताका साथ परिवारका सदस्यहरुलाई सहयोग गर्न, अप्ठ्यारो परे स्वास्थ्यकर्मीको परामर्श लिन वा अस्पताल भर्ना हुन भेटघाटमार्फत सुझाव दिइएको वताउनुभयो ।

तस्वीरहरु सौजन्यः जिल्ला प्रहरी कार्यालय पाँचथर र गिरिराज बाँस्कोटाबाट ।

प्रतिक्रिया दिनुहोस्