पाँचथर उद्योग वाणिज्य संघले कोभिड अस्पताललाई दियो ५५ लाखका स्वास्थ्य सामग्री



पाँचथर, १८ जेठ

पाँचथर उद्योग वाणिज्य संघले फिदिम स्थित कोभिड अस्पताललाई रु. ५५ लाख ६० हजार मूल्यका स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

कोरोनाभाइरसका सङ्क्रमितको उपचारमा स्वास्थ्य उपकरण र स्वास्थ्य सामग्रीको अभाव हुन नदिन संघले अभियान नै चलाई दाताहरुबाट सहयोग सङ्कलन गरी उक्त मूल्यका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । अस्थायी कोभिड अस्पताल फिदिममा आज आयोजित कार्यक्रममा संघका अध्यक्ष दीपक नेपालले जिल्ला अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. वुद्धिबहादुर थापालाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभयो । संघले १० लिटर प्रतिमिनेट क्षमताका २० वटा अक्सिजन कन्सन्ट्रेटर, ४० लिटरका ५० थान अक्सिजन सिलिण्डर, पाँच थान मल्टीपारामिटर प्यासेण्ट मोनिटर र १०० थान अक्सिमिटर उपलब्ध गराएको हो ।

यी सामग्रीको कूल मूल्य रु. ५५ लाख ६० हजार छ । संघका अध्यक्ष दीपक नेपालका अनुसार संघले जेठ ४ गते कोभिड अस्पताललाई स्वास्थ्य सामग्रीको आवश्यक देखिएकाले सहयोग गर्ने निर्णय गर्दै दाताहरुलाई स्वेच्छाले सहयोग गर्न अपील गरेको थियो । यस क्रममा देश तथा विदेशमा रहेका सहयोगीहरुबाट रु. ५७ लाख २८ हजार ७१० सङ्कलन भएको थियो । “संघको अपीललाई बुझेर सबैले स्वस्फुर्त सहयोग गर्नुभएको हो”, अध्यक्ष नेपालले भन्नुभयो, “देशका विभिन्न ठाउँदेखि विदेशमा रहेका पाँचथरप्रेमीले सहयोग गर्नुभएको छ ।”

तीन सय जनाभन्दा बढीले संघको अभियानमा रकम प्रदान गरेका थिए । उक्त सङ्कलित रकमबाट संघले सामग्री खरिद गरी कोभिड अस्पताललाई आज हस्तान्तरण गरेको हो । वितरित सामग्री काठमाण्डौंबाट फिदिमसम्म ढुवानीको प्रवन्ध भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङबाट भएको संघका महासचिव नवराज घिमिरेले वताउनुभयो ।

सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले महामारी नियन्त्रणको कार्य सरकारी प्रयासले मात्रै पर्‍याप्त हुदैन् भन्ने निजी क्षेत्रले बुझेको वताउनुभयो । “स्रोत साधनको सिमितता हुँदाहुँदै दुई हप्तामा यति ठूलो कार्य सम्पन्न गर्नु समग्र जिल्लाका लागि खुशी र प्रेरणाको विषय हो”, प्रजिअ ढकालले भन्नुभयो, “सबैको सामूहिक प्रयास जिल्लावासीको जीवन रक्षाको कार्यमा ठूलो योगदान पुगेको छ ।” जिल्लाका लागि सहयोग दिने दाताहरुप्रति सरकारको तर्फबाट आफूले धन्यवाद दिने प्रजिअ ढकालको भनाई छ ।

जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्ला अस्पताल विकास समितिका अध्यक्ष विष्णुप्रसाद सापकोटाले निजी क्षेत्रले सङ्कटका समयमा अनुकरणीय योगदान गर्दै आएको वताउनुभयो । जिल्लामा सामाजिक क्षेत्रको समेत अगुवाई गरेको पाँचथर उद्योग वाणिज्य संघले जिल्लावासीको जीवनरक्षामा लिएको कदमको सधैँ उच्च मूल्याङ्कन भइरहने उहाँको भनाई थियो ।

हस्तान्तरित सामग्री जिल्लाका सार्वजनिक सम्पत्तिका रुपमा रहने यसअघि नै संघले घोषणा गरिसकेको छ । छोटो समयमा ठूलो धनराशी सङ्कलन गरी परिणामुखि र नमूना काम गरेको भन्दै संघको कार्यको जिल्लावासीले प्रसंशा गरेका छन् ।

कोभिड–१९ को सङ्क्रमण बढ्दै जाँदा अक्सिजन सिलिण्डर अभाव भएपछि संघले यसअघि नै रु. तीन लाख रकम सङ्कलन गरी २० थान अक्सिजन सिलिण्डर कोभिड अस्पताललाई हस्तान्तरण गरिसकेको छ । संघले जिल्ला अस्पतालका अतिरिक्त अन्य स्वास्थ्य संस्थाहरुमा अभाव भएमा अक्सिजन सिलिण्डर, अक्सिमिटर जस्ता सामग्री उपलब्ध गराउन सक्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्