

पाँचथर, १८ जेठ
कोरोनाभाइरस सङ्क्रमण रोकथामका लागि पाँचथरको फिदिम नगरपालिकाले जिल्लामा रहेका प्रदेश र संघीय सरकार मातहतका कार्यालयलाई सहयोग उपलब्ध गराएको छ ।
फिदिम नगरपालिकाले प्रदेश सरकार मातहतको पाँचथर जिल्ला अस्पताललाई कोभिड–१९ को सङ्क्रमण रोकथाम, परीक्षण तथा उपचारात्मक कार्यका लागि रु. २० लाख रकम उपलब्ध गराएको छ । जिल्ला अस्पतालमा सञ्चालित कोभिड–१९ अस्थायी अस्पताल सञ्चालनमा सघाउ पु¥याउन फिदिम नगरपालिकाले उक्त रकम प्रदान गरेको हो ।
आज जिल्ला अस्पतालमा आयोजित कार्यक्रममा रु. २० लाखको चेक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद अधिकारीले जिल्ला अस्पतालका प्रमुख डा. वुद्धिबहादुर थापालाई हस्तान्तरण गर्नुभयो ।
फिदिम नगरपालिकाले कोरोना सङ्क्रमितको उपचार तथा छुट्टै आइसोलेसन निर्माण नगरेको र जिल्ला अस्पतालमा रहेको कोभिड अस्पतालले नै जिल्लाका सङ्क्रमितको उपचार गरिरहेकाले नगरपालिकाले अस्पताललाई सहयोग गर्नु उचित ठानेर रकम प्रदान गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अधिकारीको भनाई छ ।

“हामीले छुट्टै प्रवन्ध गर्नु नपरेपछि जिल्ला अस्पतालको सवलिकरणमा सहयोग गरेका हौँ”, अधिकारीले भन्नुभयो । फिदिम नगरपालिकाले जेठ १६ गते गरेको निर्णयअनुसार उक्त रकम हस्तान्तरण भएको हो ।
यस्तै फिदिम नगरपालिकाले जिल्ला कोभिड–१९ सङ्कट ब्यवस्थापन केन्द्र पाँचथरलाई रु. छ लाख सहयोग उपलब्ध गराएको छ । जिल्ला अस्पतालमा आज आयोजित कार्यक्रममा उक्त रकमको चेक प्रमुख प्रशासकीय अधिकृत अधिकारीले प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकाललाई हस्तान्तरण गर्नुभयो ।
उक्त चेक बुझ्दै प्रजिअ ढकालले जिल्ला कोभिड–१९ सङ्कट ब्यवस्थापन केन्द्र र जिल्ला प्रशासन कार्यालयका कार्यलाई थप सहज र ब्यवस्थित गर्न सहयोग मिलेको वताउनुभयो । जिल्लामा स्थानीय तहले प्रदेश र संघ सरकारका कार्यालयलाई यति ठूलो रकम अनुदान उपलब्ध गराएको यो पहिलो घटना हो । जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटाले फिदिम नगरपालिकाले समग्र जिल्लाकै हितका लागि ठूलो दिलले सहयोग गरेको भन्दै प्रसंशा गर्नुभयो ।