राष्ट्रियसभा उपनिर्वाचनमा कांग्रेसका दृगनारायण पाण्डेय विजयी



फिदिम । लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका छन् ।

सोमबार भएको उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार पाण्डेयले सत्तारुढ एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्दै विजयी भएका हुन् । निर्वाचन आयोगका अनुसार विजयी पाण्डेयले प्रदेशसभातर्फ ४२ र स्थानीय तह तर्फ ११८ जनाको मतभार गरी कुल ४ हजार १ सय ४० मत पाएका छन्। त्यस्तै, पराजित खड्काले प्रदेशसभातर्फ ४० र स्थानीय तहतर्फ ९४ जनाको मतभार गरी कुल ३ हजार ६ सय १२ मत पाएका छन् ।

निर्वाचनमा प्रदेशसभा सदस्य ८३ र स्थानीय तहका प्रमुख र उपप्रमुख २१३ गरी २९६ मतभार खसेको आयोग बताएको छ। प्रदेशसभा र स्थानीय तहतर्फका १र१ मत बदर भएको छ । आयोगका अनुसार निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १८ जोडिने गर्दछ ।

नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाको समर्थन प्राप्त पाण्डेयले हालै मात्र प्रदेश सभा सदस्यबाट राजीनामा दिएका थिए। राजीनामा दिएर नेपाली कांग्रेस प्रवेश गरेका थिए । त्यस्तै, खड्का माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेपछि राष्ट्रियससभा सदस्यबाट पदमुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्