पाँचथरमा थप ६५ जनामा कोरोना सङ्क्रमण पुष्टि



फिदिम, १७ जेठ । पाँचथरमा पछिल्लो २४ घण्टामा थप ६५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।

जिल्ला प्रशासन कार्यालय पाँचथरको कोभिड–१९ दैनिक प्रतिवेदनअनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एण्टिजेन विधिबाट गरिएको परीक्षणमा उक्त संख्यामा नयाँ सङ्क्रमित थपिएका हुन् । यो सँगै जिल्लामा कूल सङ्क्रमितको संख्या ७२९ जना पुगेको उक्त प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा उल्लेख भएअनुसार पाँचथरमा सङ्क्रमण दर केही घटेको पाइएको छ । १४५ जनाको एण्टिजेन परीक्षणमा ६४ जनामा सङ्क्रमण देखिएको छ । यो सङ्क्रमण घट्न सक्ने सुधारात्मक संकेत हो ।

सङ्क्रमित भएका मध्ये हाल २१ जना जिल्ला भित्रै विभिन्न स्थानमा उपचाररत छन् भने हालसम्म सात जनालाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको छ ।

हालसम्म पाँचथरमा २९३ जना सङ्क्रमित निको भएका छन् भने ४०५ जना होम आइसोलेसनमा छन् । हालसम्म जिल्लामै कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका तीन जनाको जिल्लामै निधन भएको छ । उपचारका क्रममा जिल्ला बाहिर निधन भएका तथा जिल्ला बाहिर सङ्क्रमण परीक्षण वा पुष्टि भएका र जिल्ला वाहिर नै निधन भएका जिल्लावासीको संख्या यसमा उल्लेख छैन् ।

जिल्लामा १०९ थान अक्सिजन सिलिण्डर रहेका छन् भने तीन वटा अस्पतालमा गरी ४५ वटा बेड रहेका छन् । लेभल १ सम्मको उपचार गर्ने हाई डिफेन्डेन्सी युनिट (एचडियू) १० बेडको छ ।

प्रतिक्रिया दिनुहोस्