थप कडाई गर्दै पाँचथरमा निषेधाज्ञा एक साता लम्बियो



पाँचथर, १७ जेठ

पाँचथरमा तीन सातादेखि जारी निषेधाज्ञा थप एक साताका लागि लम्ब्याइएको छ ।

आज बसेको जिल्ला कोभिड–१९ सङ्कट ब्यवस्थापन केन्द्रको बैठकपछि प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले सङ्क्रामक रोग ऐन २०२०, स्थानीय प्रशासन ऐन २०२८ तथा कोभिड–१९ सङ्कट ब्यवस्थापन अध्यादेश २०७८ बमोजिम निषेधाज्ञा जारी गर्नुभएको हो । वैशाक २७ गते मध्यरातबाट सुरुआत भएको निषेधाज्ञा दोश्रो पटक थप गरी आगामी जेठ २७ गतेसम्म पु¥याइएको छ ।

निषेधाज्ञामा जिल्लाभरी औषधि पसल बाहेकका सबै पसलहरु, उद्योग, ब्यवसाय, निर्माण कार्य, सवारीका साधन समेत सञ्चालन तथा अनावाश्यक मानवीय आवागमनमा रोक लगाइएको छ । दूध तथा दूग्धजन्य पदार्थ, फलफूल र सागशब्जीका पसल विहान ७ बजेदेखि ८ बजेसम्म खुल्ने भएका छन् ।

तीन साता लामो निषेधाज्ञाले सङ्क्रमणको जालो तोड्न नसकेपछि यहाँ निषेधाज्ञामा कडाई गर्न लागिएको हो । उद्योग र निर्माण समेत बन्द गर्ने र सो प्रयोजनका सवारीका साधन समेत बन्द गर्ने निषेधाज्ञासम्बन्धी आदेशमा उल्लेख छ ।

प्रशासनले यसअघि जारी गरेका सबै किसिमका सवारी पासहरु खारेज गर्नुका साथै मेची राजमार्ग हुँदै अन्य जिल्लाका लागि चल्ने सवारीका साधनमा समेत टाइमकार्ड लागू गरिएको छ । निषेधाज्ञाकै वीचमा यहाँ सङ्क्रमण निकै ब्यापक भएको छ ।

सदरमुकाम सहित जिल्लाका बजारी तथा ग्रामीण क्षेत्रमा सङ्क्रमण फैलँदै गएपछि सङ्क्रमणको ‘चेनब्रेक’ गर्न निषेधाज्ञामा कडाई गरिएको र अटेर गर्नेलाई कोभिड–१९ सङ्कट ब्यवस्थापन अध्यादेश २०७८ बमोजिम कारबाहीको दायरामा लगिने प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले जानकारी दिनुभयो । जिल्ला कोभिड–१९ सङ्कट ब्यवस्थापन केन्द्रको आजको बैठकमा राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र समेतका प्रतिनिधि समेत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्