रहेनन् उपाध्यक्ष भण्डारी



फिदिम, १५ जेठ । नेपाल पत्रकार महासंघ पाँचथर शाखाका उपाध्यक्ष एकराज भण्डारीको निधन भएको छ ।

गत वैशाक ३१ गते कोरोनाभाइरस सङ्क्रमण भई झापाको पूर्णटुङ्ग विर्तासिटी अस्पतालमा उपचाररत ५२ वर्षीय भण्डारीको आज अपरान्ह ४ः३० बजे निधन भएको हो । श्वासप्रश्सावमा समस्या देखिएका भण्डारीलाई भेण्टिलेटरमा राखी उपचार भइरहेकामा आज निधन भएको हो । उहाँको पार्थीव शरीरलाई आजै फिदिम–४ माझीटार स्थित हेंवा घाट नेपाली सेनाको फिदिम स्थित रणशेर गणको टोलीले अन्त्येष्टि गरेको छ ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले आज शोक वक्तब्य जारी गर्दै भण्डारीको निधनले पत्रकारिता क्षेत्रमा अपुरणीय क्षति पुगेको वताएको छ । पाँचथरको हिलिहाङ गाउँपालिका–५ सुभाङ स्थायी घर भई विगत डेढ दशकभन्दा लामो समयदेखि भण्डारी पत्रकारिता, साहित्य र प्राध्यापन क्षेत्रमा क्रियाशील हुनुहुन्थ्यो । नेपाल टे«ड युनियन कँग्रेस पाँचथरका उपाध्यक्ष समेत रहनुभएका भण्डारी फिदिम स्थित कञ्चनजंघा एकेडेमी माध्यमिक विद्यालयमा प्राध्यापनरत हुनुहुन्थ्यो ।

नेपाल पत्रकार महासंघ पाँचथर शाखाका उपाध्यक्ष भण्डारी यसअघि शाखाकै कार्यसमिति सदस्य भई सक्रियतापूर्वक महासंघ र पत्रकारिता पेशामा क्रियाशील हुनुहुन्थ्यो । उहाँ यसअघि नेपाल प्रेस युनियन पाँचथरको उपाध्यक्ष समेत रहनुभएको थियो । भण्डारीका श्रीमती, एक छोरा र दुई जना छोरी छन् । निडर, हक्की र स्पष्ट स्वभावका भण्डारी भण्डारीको निधनले पाँचथरको पत्रकारिता क्षेत्रमा ठूलो क्षति पुगेको छ ।

स्वर्गीय भण्डारीप्रति भावपूर्ण श्रद्धाञ्जली !

प्रतिक्रिया दिनुहोस्